Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 20, 2014

कोरियाको कम्पनीले नेपालको जलविद्युतमा ४२ अर्ब लगानी गर्ने

निरु अर्याल,काठमाडौं-
कोरियाको हुबिकन इन्भेस्टमेन्ट कम्पनीले ४ सय २० मेगावाट क्षमताको तिला– २ जलविद्युत् आयोजनामा ४२ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको छ । उसले गत सातामात्रै हुबिकन कम्पनी प्रालिको नाममा विदेशी लगानी स्वीकृतका लागि उद्योग विभागमा निवेदन दर्ता गरेको छ ।  यो आयोजनामा कम्पनीले ८० प्रतिशत र अन्य साझेदारले २० प्रतिशत लगानी गर्नेछन् । आयोजना मध्यपश्चिमको कालिकोट जिल्लामा पर्छ ।
आयोजना ढिलोमा सन् २०२२ सम्म सक्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब ७२ करोड ३४ लाख ४३ हजार युनिट विद्युत् उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।
विभागका वैदेशिक लगानी निर्देशक विपीनराज भण्डारीका अनुसार हुबिकनले लगानी स्वीकृतिका लागि आवश्यक कागजात पूरा नगरेकाले पत्राचार गरिएको छ । “नपुगेका कागजातका लागि सम्बन्धित निकायलाई खबर गरिसकेका छौं,” उनले भने, “कागजात पुगेपछि स्वीकृतका लागि औद्योगिक प्रवद्र्धन बोर्डमा पठाउँछौं ।” २ अर्ब रुपैयाँसम्म कारोबार गर्ने कम्पनी तथा परियोजनाको निर्णय गर्ने अधिकारमात्र विभागसँग छ । यो परियोजना स्वीकृत भए चालू आवमा जलविद्युत्मा मात्रै १ खर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिने पक्का हुनेछ ।
भारतको केएसके इनर्जी र नेपालको एसी पावरले संयुक्त रूपमा आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरेका छन् । कम्पनीले हिउँदका ५ महिना नेपालमै बिजुली बिक्रीका लागि विद्युत् प्राधिकरणमा प्रस्तावसमेत गरिसकेको छ । बाँकी समय भारत निकासी गर्ने उसको लक्ष्य छ । कम्पनीले अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) हुनुपर्ने माग गरेको छ ।
यो आयोजना कालिकोटको धनडाँडा गाविसमा पर्छ । तिला कर्णालीको सहायक नदी हो । काम सुरु गरेको साढे ४ वर्षमा आयोजना सम्पन्न हुने अध्ययनले देखाएको छ ।
विभागका अनुसार चालू आवका ६ महिनामा मात्रै एउटै आयोजनाबाट ४२ अर्ब विदेशी लगानी प्रस्ताव आएको छ । यो लगानी अघिल्लो आवको सोही अवधिभन्दा ३५ प्रतिशत बढी हो । निर्देशक भण्डारीले जलविद्युत्मा लगानी आउने क्रम बढे पनि उत्साहजनक भने नभएको बताए । “लगानीकर्ता इच्छुक देखिए पनि आवश्यक पूर्वाधार र संरचनागत समस्याले पर्याप्त लगानी आउन सकेको छैन,” उनले भने ।
भण्डारीका अनुसार पछिल्ला २ महिनामा मात्रै आधा दर्जन जलविद्युत् कम्पनी विदेशी लगानीको स्वीकृति प्रक्रियामा छन् ।
एसी पावरका अध्यक्ष हरिश्चन्द्र शाहले आयोजनामा लगानी गर्न कोरियाली कम्पनी इच्छुक रहे पनि प्रक्रियामै भएकाले निर्णय हुन बाँकी रहेको बताए । “हामी अन्तिम स्वीकृतिको प्रतीक्षामा छौं,” उनले भने, “निर्णय भएपछि मात्रै अरु कार्य अघि बढ्छन् ।”
श्रोत : कारोबार 

No comments:

Post a Comment