Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 22, 2015

कोरियन कविको भूकम्प क्याफे

गोंगबु बसपार्कबाट गल्कोपाखातिर मोडिएपछि बीचमा आइपुग्छ– सरकारी धारा। यहाँबाट दायाँतिर अलिकति मोडेपछि एउटा घरको भुइँतलामा कोरियन कवि किम ह्यङह्यो मैदा मुछिरहेका भेटिन्छन्। असिन पसिन हुँदै पाउरोटी, केक, बिस्कुट लगायतका अनेकथरि बेकरी आइटम बनाइरहेका हुन्छन्, सघाइरहेकी हुन्छिन् पत्नी तथा सञ्चारकर्मी मञ्जु गुरुङ। भित्र किचेनमा किमले तयार पारेका पक्वानालाई बाहिर क्याफेको टेबुलमाथि प्याकिङ गर्दै चाङ लाउँछिन् मञ्जु।


क्याफेजस्तै लागेर तपाईं यहाँ झुक्किएर पुग्नुभयो भने मेनुचाहिँ भेट्टाउनुहुन्न। किनभने, यो हो– भूकम्प क्याफे। आरामले कफी पिउँदै र केक टोक्दै टहलिन आउने ग्राहकका लागि यो क्याफे खुलेको हैन। केही दिन लाएर यहाँ तयार पारिएका बेकरी आइटम लिएर भूकम्प पीडित बस्तीमा पुग्छ यो जोडी। र, पीडितलाई बाँड्छन्।

‘दुई महिना जति भयो यसरी हिँडेको,’ किमले सुनाए, ‘भूकम्पले घर भत्केको ठाउँमा खानेकुराहरू पनि पुरेका छन्। थोरै भए पनि सघाउन सकिन्छ कि भनेर यस्तो गरेका हौं।’

केहीअघि मात्रै कोरियन भाषाबाट अनुवाद गरी नेपालीमा ‘आकासे समुद्रको गीत’ कविता संग्रह सार्वजनिक गराएका किम भूकम्पलगत्तै सघाउनकै लागि नेपाल आएका थिए। आएलगत्तै केही पीडित बस्तीमा पुग्दा खाद्यान्न समस्या देखेपछि उनलाई यस्तो जुक्ति फुरेको हो। आफ्नै हातको कला प्रयोग गरेर पीडितलाई खुवाउने। अहिलेसम्म सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, भक्तपुर र धादिङ पुगेका उनी विशेष गरी स्कुलहरूमा केन्द्रित भएका छन्। ‘ठूलाहरूले त आफैं पनि खोजेर खान सक्छन्,’ किम भावुक बने, ‘तर, यस्तो विपत्को बेला नानीहरूलाई कसले खुवाउँछ?’

५२ वर्षीय यी कोरियन कविको तीन दशकअघि सियोलमा क्याफे थियो। यिनले केही युवाहरूलाई रोजगारसमेत दिँदै केही वर्ष क्याफे चलाए, बनाउने कला भएको हुनाले किचेन आफंै सम्हाल्थे। पाँच वर्ष यिनले यो व्यवसाय गरे। तर ‘अ डेजर्ट अफ ह्युमन विइङ’, ‘फ्लावर अफ स्नोइ मर्निङ’, ‘द स्टोरी अफ अ विन्टर नाइट’, ‘लभ इन डेजर्ट’ जस्ता साहित्यिक कृतिका यी लेखक फिरन्ते हुन चाहे अनि क्यामेरा भिरेर देशदेशावर घुम्न निस्के। घुम्दै र लेख्दै हिँडेका यिनी सन् २००४ मा पहिलोपटक नेपाल आइपुगेका थिए। त्यसको ७ वर्षपछि नेपाललाई ससुराली देश बनाएका उनी भूकम्पयता नेपालमै छन्। सुसुराली देशलाई सघाउन नेपाल–कोरिया कल्चर सेन्टर पनि बनाएका छन्।

खानेकुरा बाँड्दै केही दिनअघि उनी धादिङको भूकम्प पीडित शिविर धनसार पाखा पुगेका थिए। काठमाडौंका अनाथालयहरूसमेत चाहरेका उनी बर्खाको बेला जस्तापाताको ओतमा शरण लिएर बसिरहेकाहरू देखेर भावुक बनेको सुनाए। ‘जुन ठाउँ पुगे पनि गाउँमा युवाहरू कतै भेटिएन,’ उनले भने, ‘भूकम्पले भत्काएको घरको भग्नावशेष उठाउने मानिस पनि छैन, यतिसम्म कि विदेशी आएर केही बाँडे भने झोला समाइदिने मान्छे पनि छैनन्। बालबालिका र वृद्धवृद्धालाई हेरचाह गर्न मान्छे त हुने कुरै भएन।’ प्राय: गाउँका युवाहरू रोजगारका लागि विदेश पलायन भएकै छन्, भएका केही तन्नेरीहरू पनि विपत्पछि सहर या अन्ततिरै पलायन भएको प्रति कवि किमले चित्त दुखाए। ‘यस्तो भयो भने विकास ढिलो हुन्छ,’ उनले कोरियन अनुभव सुनाए।

जे भए पनि उनी पाउरोटी, केक र बिस्कुटहरू बनाइरहेकै छन्। उनको यो अभियान अझै दुई महिना जारी रहनेछ। नेपालमै दसैंतिहार मनाएपछि मात्रै कोरिया फर्किने सोचाइमा रहेको किम–मञ्जुको भूकम्प क्याफे भने त्यसपछि बन्द हुनेछ।
-- कान्तिपुर दैनिक



No comments:

Post a Comment