
देवेन्द्र सम्बाहाम्फे - दक्षिण कोरिया |
डा .रि कन हो अवकासप्राप्त मनोरोग बिशेषज्ञ हुन् । अध्ययन र पेशाले चिकित्सक भए पनि कोरियामा नेपाली कला,साहित्य र संस्कृतिको प्रचारप्रसारमा बिगत ३२ बर्षदेखि महत्वपूर्ण योगदान गर्दै आएका छन् । उनकै प्रयासमा केहिबर्ष अघि ‘थाउजन्ड इमेज अफ नेपाल’ कार्यक्रम अन्तर्गत एक हजार नेपाली कला सेजोङ सास्कृतिक हलमा हप्ताब्यापि प्रर्दशन गरिएको थियो । रिले नेपालको कला,साहित्यसंग सम्बन्धित ५ कृति समेत प्रकाशित गरेका छन् । सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीबाट प्रभावित भएर बिगत २५ बर्षदेखि प्रत्येक बर्ष नेपालमा निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएका छन् । उनीद्धारा लिखित ‘रमाइलोसंग बाच्न चाहान्छु’ नामक कृति २०१३ मा कोरियाकै बेस्ट सेलर कृति हो । उनले हालै डायमण्ड शम्सेरको सेतो बाघ कोरियन भाषामा अनुवाद गरेका छन् । यसको केहि हप्ता अघि काठमाण्डौमा बिमोचान गरिएको थियो भने आउदो शुक्रबार यहां बिमोचन गर्ने कार्यक्रम छ । रिसंग विविध बिषयमा पत्रकार देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी:
यसपालीको नेपाल यात्रा केका लागि थियो र कस्तो रह्यो ?
यसपाली तीनवटा काम लिएर म नेपाल गएको थिएँ । मैले संचालन गर्दै आएको फेमिली एकेडेमी स्थापना भएको २० बर्ष भएको उपलक्षमा स्वास्थ्य शिबिर संचालन गर्न , मैले अनुबाद गरेको सेतोबाघ उपन्यासको बिमोचन गर्न र आउन लागेको मेरो कृति ‘छोरासंगको संवाद’ को सम्पादन गर्न । जुन पोखरा र चितवनको सुन्दर र शान्त वातावरणमा बसेर सम्पादन गरें ।
भेटघाट कस्तो रह्यो त ?
यसपालिको मेरो यात्रा बिशेष रह्यो । ३२ बर्षे नेपाल यात्रामा मैले धेरै नेपाली साहित्यकार, कलाकारसँग परिचित हुने मौका पाएको थिएँ । सेतोबाघ उपन्यासको बिमोचन कर्यक्रममा उहाँहरु धेरै उपस्थित भएर शुभकामना दिनुभयो ।
सेतो बाघ अनुवाद गर्नुको अरु कारण पनि छन् कि ?
१९९० मा मेडिकल क्याम्प लिएर नेपाल गएको थिएँ । त्यस क्याम्पमा डायमण्ड शमशेरले पनि छोरा जचाउन ल्याएका थिए । त्यहाँ उनले सेतो बाघ उपन्यास उपहार दिंदै कोरियन भाषामा अनुवाद गर्न इच्छा ब्यक्त गरेका थिए । तर म त्यस्तो पोख्त अनुवादक नभएकाले २००४ मा कोरियाकै प्रसिद्ध उपन्यासकार पार्क वान सकलाई नेपाल संगै लगेर परिचय गराइदिएको थिएँ । अनुवाद गर्न पार्क पनि मन्जुर हुनुभएको थियो तर दुर्भाग्य २०११ को जनवरीमै उहाँको निधन भयो । फेबु्रवरीमा मेडिकल क्याम्पक लिएर नेपाल जाँदा डायमण्ड जी पनि अस्पतालमा हुनुहुन्थ्यो । अस्पतालको शैय्याबाटै उहांले २ वटा पत्र दिनु भयो । पहिलो पत्र सेतोबाघ अनुवादको अनुमति थियो भने दोश्रो पत्रमा ‘सेतो बाघ’को अर्थ लेख्नु भएको थियो । ती दुइवटा पत्र बोकेर म कोरिया आएं । दुर्भाग्य केहि दिनमै उहांको पनि निधन भएको खबर पाएं । डायमण्ड जी जिवित रहँदै कोरियन भर्सनको सेतो बाघ हातमा थमाउने मेरो सपना पनि पुरा भएन । यो सबै घटनाले म हदै मर्माहत भएँ । मनमा पनि सघन जिम्मेवारी बोध भयो । त्यसैले दुईबर्ष लगाएर आफैंले अनुवाद गरेको हुं ।
सेतोबाघबारे कोरियाली पाठकको प्रतिकृया कस्तो छ त ?
सेतो बाघ को कोरियन भर्सन आएपछि केहि समालोचना र प्रतिकृयाहरु आएका छन् । ती सबै सकारात्मक नै छन् । अर्को कुरा यसको औपचारिक बिमोचन यसै हप्ता मात्र हुँदैछ । त्यसपछि बिस्तृत समलोचाना हुने आशा गरेको छु ।
नेपाली कृतिहरुको अनुवाद गर्दा मुख्य कठिनाइ के रहने गर्छ ?
नेपाल बारे कृति लेख्दा होस् वा अनुवाद गर्दा होस् प्राय गरेर नेपाली नाम र बर्षबारे कठिनाइ हुने गर्दछ । तर मलाई नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनीधि केपी सिटौलाले पूर्ण सहयोग गर्दै आउनु भएको छ । केहि समस्या भयो कि सिटौला जीलाई सम्पर्क गर्छु । उहाँको सहयोगले मलाई काम गर्न धेरै सहज भएको छ ।
नेपाल प्रेम कसरि शुरु भएको हो ?
यसको निकै लामो कहानी छ । मलाई सानैदेखि पहाड मनपथ्र्यो । माध्यमिक बिद्यालय पढ्दै गर्दा दुइ कोरियाको युद्धले देश क्षतबिक्षत हुन्पुग्यो । त्यतिखेर म १८ बर्षको थिएँ । एकदिन हेडसरले एडमण्ड हिलारी संसारकै अग्लो शिखर माउन्ट एभरेष्टमा पुग्यो भन्नुभयो । सरको कुरा सुनेर म गम्भीर भएँ । जसरि भए पनि हिमाल चढ्ने र हिलारीलाई भेट्ने त्यहि दिन नै योजना बनाएँ । त्यसपछि मैले अल्पाइन क्लब स्थापना गरें हिमाल चढ्नका लागि भनेर १० बर्ष तालिम र अभ्यास गरें । तर देशको स्थिति असामान्य भएकाले सोचे जस्तो भएन र हिमाल चढ्ने सपना त्यागी दिएँ । योजना त्यागे पनि नेपालबारे मेरो प्रेम रहेकै थियो । सन् १९८२ मा एउटा म डाक्टर भैसकेको थिएँ । यो वर्ष मेरो जिबनमा संयोगको बर्ष रह्यो । एकदिन कोरियन पर्वतारोहण संघले मकालु आरोहण गर्न जाने अरोहिहरुका लागि हेल्थ असिस्टेन्ट गइ दिन अनुरोध गर्यो । मैले केहि नसोची सहर्ष स्वीकार गरें । यो मेरो पहिलो नेपाल यात्रा थियो । अरोहिहरु मकालु चढेर फर्के तर म नेपालमै छ महिना बसेर फर्कें । ६ महिना रहंदा हिमाली क्षेत्रको समाज सस्कृति अध्ययन गरें । जति पढ्दै गएँ त्यति नेपाल प्रेमी बन्दै गएँ ।
एडमण्ड हिलारिसंग कहिले, कसरि भेट भएको हो ?
हिलारीलाई पनि १९८२ मै भेटें । त्यति बेला उनि खुम्जुङमा स्वास्थ्य शिबिर संचालन गर्दै थिए । वास्तबमा उनि डाक्टर थिएनन तर पनि स्वास्थ्य शिबिर संचालन गरेको देखेर ‘म त डाक्टर पो त, यो काम मैले गर्नुपर्छ’ भन्ने सोचाई आयो । त्यहाँ पनि सघाएँ। हिलारीकै प्रेरण लिएर सन् १९८९ देखि लगातार नेपालमा मेडिकल क्याम्प संचलन र्दै आएको छु ।
नेपालबारे हिलारीको धारणा कस्तो थियो ?
उनि नेपाल प्रेमी थिए । एक दिन उनले मलाई ‘सगरमाथा आरोहण गरेकोमा पश्चताप लागेको छ ।’ भने । किन पश्चताप गरेको ? भनेर मैले सोधेको थिएं । सगरमाथा फोहोर बन्दै गएकोमा उनलाई चित्त दुखेको रहेछ । जवाफमा उनले भनेका थिए ‘मैले सगरमाथा आरोहण गर्न शुरु गरेकाले अरु आरोहिले पनि चढ्न शुरु गरे । जसका कारण सगरमाथामा फोहो थुप्रिन्दै गएको छ ।’ सगरमाथा सफा हुनुपर्छ भन्थे उनी ।
३२ बर्षसम्मको नेपाल यात्रालाई कसरि समिक्षा गर्नुहुन्छ ?
नेपाल मन पराएकाले अहिलेसम्म खासै दुख कस्टको अनुभूति भएको छैन । प्रत्येक बर्ष जान पाएकाले बरु गौरवको अनुभूति भइरहेको छ । धेरै कोरियनहरु हिमाल चढ्न र हेर्न जान्छन । म पनि हिमाल मन पराउन्छु तर उनीहरु हिमाल हेर्छन मान्छे( नेपली समाज) हेर्दैनन् । प्रकृति हेर्छन तर सस्कृति बुझ्दैनन् । यहाँबाट जाँदा आफ्नो लक्ष सम्झेर गएका हुन्छन । लक्ष सफल असफल भएपछि उनीहरुलाई घर फकिर्न हतारो हुन्छ । तर मलाई नेपाली जनजीवनबारे गहन अध्ययन गर्न मन लाग्छ । अध्ययनबाटै प्रेरित भएर नेपाली कला सस्कृतिलाई कोरियाली समाजमा प्रचारप्रसार पनि गर्न पाएको छु । त्यसैले सुखद अनुभूति धेरै छन् ।
यहाँको समाजमा नेपाली कला,सस्कृति चिनाउन केके गर्नु भयो नि ?
हरेक पल्ट नेपाल जाँदा सस्कृतिवीदहरुसंग भेटेर नेपाली सस्कृतिबारे जानकारी लिने गरेको छु । साथै यससंग सम्बन्ति पुस्तकहरुको अध्ययन पनि उतिकै गरेको छु । त्यसरी अध्ययन गरेर मैले सारम ग्वा सान ( मान्छे र पहाड ) र सान ( पहाड) दुइ पत्रिकामा सन् १९८२ देखि २०१२ सम्म प्रत्येक महिना नेपालको जनजीबन ,कला र सस्कृतिबारे लेख प्रकाशन गरेको थिएँ । २००४ मा जागिरबाट अवकाश लिएपछि पूर्णरुपमा दुइदेश बिचको कला सस्कृति आदानप्रदान गर्दै आएको छु । एक पल्ट नेपाली चित्रकारहरुलाई कोरिया बोलाउने र अर्को पल्ट कोरियन कलाकारहरु नेपाल जाने क्रम चलिरहेको छ ।
‘थाउजन्ड इमेज अफ नेपाल’ कार्यक्रम तय गरेर नेपाली चित्रकारहरुको हजारवटा कला सोलकोमुटु मानिने सेजोङ सास्कृतिक हलमा हप्ता ब्यापी प्रर्दशन गरेको थिए । यस बाहेक एकेडेमीको क्षेत्रिय कार्यलयहरु जेजु,ख्यंगी,खवन जस्ता प्रदेशहरुमा प्रदर्शनी गरिएको छ । म बाचुन्जेल नेपाली कला,साहित्य र सस्कृतिको प्रचार गर्ने योजना बनाएको छु ।
नेपाली कलाबारे अवलोकनकर्ताको धारणा कस्तो छ त ?
नेपाली कला सस्कृतिलाई अवलोकन गरेर धेरैले चासो राखेर प्रश्न सोध्छन । अध्ययन गरेर कोरिएका कलाहरु जतैको भए पनि केहि समानता पाइन्छ तर धेरै नेपाली कलाकारहरु यति प्रतिभाशाली छन् कि उनीहरु अध्ययन बिना नै कला निर्माण गर्छन त्यसैले फरक देखिनु स्वाभाविक हो । म अक्सर भन्नेर्छु कला,साहित्य र संस्कृतिमा नेपाल कोरियाभन्दा धेरै गुणा धनी छ ।
‘नेपाल कल्चर सिरिज’ चाही कसरि शुरु गर्नु भयो नि ?
नेपालको कला सस्कृतिका बारेमा लेखिएका मेरा लेखहरु धेरै भएकाले हराउन्छन भन्ने चिन्ता थियो मलाई । म प्रोफेसर हुँदा चिकित्सा क्षेत्रको ४० भन्दा बढी पाठ्यपुस्तक लेखेको थिएँ । ति पुस्तकको प्रकाशकलाई मेरा लेखहरु कृतिका रुपमा प्रकाशित गरिदिन अनुरोध गरें । यसै अनुसार ‘नेपाल कल्चर सिरिज’ बनाएर कृतिका प्रकाशन भएको हो । यस सिरिज अन्तर्गत नेपाल स्ट्याम्प आइकन एण्ड सर्ट ए स्से , स्प्रीट अफ हिमालय, ओ ब्यूटिफूल नेपाल, द ए स्से अफ बुद्धज फोर होली , र सेतोबाघ आएका छन् ।
अब यस सिरिजमा कुन बिषय रोज्दै हुनुहुन्छ ?
अब नेपालको इतिहास अनुबाद गर्ने योजना बनाएको छु । त्रिभुवनदेखि हालसम्मको उपलब्ध भएकाले यसको अनुवाद गर्ने तयारी गरिरहेको छु । यसपाली धेरै पुस्तक पसलहरुमा त्यसउताको मानक नेपालको इतिहास खोजि गरें पनि पाउन सकिन । त्यसैले साथीहरुलाई खोजि दिन आग्रह गरेको छु ।
‘रमाइलो संग बाच्न चाहान्छु’ (ना नन चुगुल्ते काजी छेमिक्के साल्को सिफ्दा ) शीर्षक को तपाइको कृति २०१३ मा बेस्ट सेलर भयो । यसमा त्यस्तो के लेख्नु भएको छ ?
यो कृति गतसाल २ लाखभन्दा बढी बिक्रि भयो । यसमा मैले जीवन भोगाईको अनुभूतिलाई समेटेको छु । अवकाश प्राप्त जीवनलाई कसरि खुशी, सुखी साथ बिताउन सकिन्छ भन्ने बिषयलाई लेखेको छु । बिभिन्न सेवाबाट अवकाश पाएका तर अब के गर्ने भनेर अल्मलिएका मान्छेका लागि यो कृति पथप्रदर्शक बन्यो । यो युवा र प्रौढ दुवै पुस्ताका लागि उतिकै खुराक बन्यो ।

No comments:
Post a Comment