Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 17, 2014

बाँचुन्जेल नेपाली कला,साहित्य,संस्कृतिको प्रचार गर्छु


देवेन्द्र सम्बाहाम्फे -  दक्षिण कोरिया |
डा .रि कन हो अवकासप्राप्त मनोरोग बिशेषज्ञ हुन् । अध्ययन र पेशाले  चिकित्सक भए पनि कोरियामा नेपाली कला,साहित्य र संस्कृतिको प्रचारप्रसारमा बिगत ३२ बर्षदेखि    महत्वपूर्ण योगदान गर्दै आएका छन् । उनकै प्रयासमा  केहिबर्ष अघि ‘थाउजन्ड इमेज अफ नेपाल’ कार्यक्रम अन्तर्गत एक हजार नेपाली कला सेजोङ सास्कृतिक हलमा हप्ताब्यापि प्रर्दशन गरिएको थियो ।  रिले नेपालको कला,साहित्यसंग सम्बन्धित  ५ कृति समेत प्रकाशित गरेका छन् । सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीबाट प्रभावित भएर बिगत २५ बर्षदेखि  प्रत्येक बर्ष नेपालमा निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएका छन् । उनीद्धारा लिखित ‘रमाइलोसंग बाच्न चाहान्छु’ नामक कृति २०१३ मा कोरियाकै बेस्ट सेलर कृति  हो । उनले हालै डायमण्ड शम्सेरको सेतो बाघ  कोरियन भाषामा अनुवाद गरेका छन् । यसको केहि हप्ता अघि काठमाण्डौमा बिमोचान गरिएको थियो भने आउदो शुक्रबार यहां बिमोचन गर्ने कार्यक्रम छ  । रिसंग विविध बिषयमा पत्रकार देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी:

 यसपालीको नेपाल यात्रा केका लागि थियो र कस्तो रह्यो ?

यसपाली  तीनवटा काम लिएर म नेपाल गएको थिएँ । मैले संचालन गर्दै आएको फेमिली एकेडेमी स्थापना भएको २० बर्ष भएको उपलक्षमा स्वास्थ्य शिबिर संचालन गर्न , मैले अनुबाद गरेको सेतोबाघ उपन्यासको बिमोचन गर्न र आउन लागेको मेरो कृति ‘छोरासंगको संवाद’ को सम्पादन गर्न । जुन पोखरा र चितवनको सुन्दर र शान्त वातावरणमा बसेर सम्पादन गरें ।

भेटघाट कस्तो रह्यो त ? 

यसपालिको मेरो यात्रा बिशेष रह्यो । ३२ बर्षे नेपाल यात्रामा मैले धेरै नेपाली साहित्यकार, कलाकारसँग परिचित हुने मौका पाएको थिएँ । सेतोबाघ उपन्यासको बिमोचन कर्यक्रममा उहाँहरु धेरै उपस्थित भएर शुभकामना दिनुभयो ।

सेतो बाघ अनुवाद गर्नुको अरु कारण पनि छन् कि ?

१९९० मा मेडिकल क्याम्प लिएर नेपाल गएको थिएँ । त्यस क्याम्पमा डायमण्ड शमशेरले पनि  छोरा जचाउन ल्याएका थिए ।  त्यहाँ उनले सेतो बाघ उपन्यास उपहार दिंदै कोरियन भाषामा अनुवाद गर्न इच्छा ब्यक्त गरेका थिए ।  तर म त्यस्तो पोख्त अनुवादक नभएकाले २००४ मा कोरियाकै प्रसिद्ध उपन्यासकार पार्क वान सकलाई नेपाल संगै लगेर परिचय गराइदिएको थिएँ । अनुवाद गर्न पार्क पनि मन्जुर हुनुभएको थियो तर दुर्भाग्य २०११ को  जनवरीमै  उहाँको निधन भयो ।  फेबु्रवरीमा  मेडिकल  क्याम्पक  लिएर  नेपाल जाँदा डायमण्ड जी पनि अस्पतालमा हुनुहुन्थ्यो । अस्पतालको शैय्याबाटै उहांले २ वटा पत्र दिनु भयो ।  पहिलो पत्र सेतोबाघ अनुवादको अनुमति  थियो भने दोश्रो पत्रमा ‘सेतो बाघ’को अर्थ लेख्नु भएको थियो ।  ती दुइवटा पत्र बोकेर म कोरिया आएं । दुर्भाग्य   केहि दिनमै उहांको पनि  निधन भएको खबर पाएं । डायमण्ड जी जिवित रहँदै कोरियन भर्सनको सेतो बाघ  हातमा थमाउने मेरो सपना पनि पुरा भएन ।  यो सबै घटनाले म  हदै मर्माहत भएँ । मनमा पनि सघन जिम्मेवारी बोध भयो । त्यसैले दुईबर्ष लगाएर आफैंले अनुवाद गरेको हुं ।

सेतोबाघबारे कोरियाली पाठकको प्रतिकृया  कस्तो छ त ?

सेतो बाघ को कोरियन भर्सन आएपछि केहि समालोचना र प्रतिकृयाहरु आएका छन् । ती सबै सकारात्मक नै छन् । अर्को कुरा यसको औपचारिक बिमोचन यसै हप्ता मात्र हुँदैछ । त्यसपछि बिस्तृत समलोचाना हुने आशा गरेको छु ।

 नेपाली कृतिहरुको अनुवाद गर्दा मुख्य कठिनाइ के रहने गर्छ ?

नेपाल बारे कृति लेख्दा होस् वा अनुवाद गर्दा होस् प्राय गरेर नेपाली नाम र बर्षबारे कठिनाइ हुने गर्दछ । तर मलाई नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनीधि केपी सिटौलाले पूर्ण सहयोग गर्दै आउनु भएको छ  । केहि समस्या भयो कि सिटौला जीलाई सम्पर्क गर्छु ।   उहाँको सहयोगले मलाई काम गर्न धेरै सहज भएको छ ।


नेपाल प्रेम कसरि शुरु भएको हो ?

यसको निकै लामो कहानी छ । मलाई  सानैदेखि पहाड मनपथ्र्यो  । माध्यमिक बिद्यालय पढ्दै गर्दा दुइ कोरियाको युद्धले देश क्षतबिक्षत हुन्पुग्यो । त्यतिखेर म १८ बर्षको थिएँ । एकदिन हेडसरले एडमण्ड हिलारी संसारकै अग्लो शिखर माउन्ट एभरेष्टमा पुग्यो भन्नुभयो । सरको कुरा सुनेर म गम्भीर भएँ । जसरि भए पनि  हिमाल चढ्ने र  हिलारीलाई भेट्ने त्यहि दिन नै योजना  बनाएँ । त्यसपछि मैले अल्पाइन क्लब स्थापना गरें हिमाल चढ्नका लागि भनेर १० बर्ष तालिम र अभ्यास गरें । तर देशको स्थिति असामान्य भएकाले सोचे जस्तो  भएन र हिमाल चढ्ने सपना त्यागी दिएँ । योजना त्यागे पनि नेपालबारे मेरो प्रेम रहेकै थियो । सन् १९८२ मा एउटा म डाक्टर भैसकेको थिएँ । यो वर्ष  मेरो जिबनमा संयोगको बर्ष रह्यो । एकदिन कोरियन पर्वतारोहण संघले मकालु आरोहण गर्न जाने अरोहिहरुका लागि हेल्थ असिस्टेन्ट गइ दिन अनुरोध गर्यो । मैले केहि नसोची सहर्ष स्वीकार गरें । यो मेरो पहिलो नेपाल यात्रा थियो । अरोहिहरु मकालु चढेर फर्के तर म नेपालमै छ महिना बसेर फर्कें ।  ६ महिना रहंदा हिमाली क्षेत्रको समाज सस्कृति अध्ययन गरें । जति पढ्दै गएँ त्यति नेपाल प्रेमी बन्दै गएँ ।

एडमण्ड हिलारिसंग कहिले, कसरि भेट भएको हो ?

हिलारीलाई पनि १९८२ मै भेटें । त्यति बेला उनि खुम्जुङमा स्वास्थ्य शिबिर संचालन गर्दै थिए । वास्तबमा उनि डाक्टर थिएनन तर पनि स्वास्थ्य शिबिर संचालन गरेको देखेर ‘म त डाक्टर पो त, यो काम मैले गर्नुपर्छ’ भन्ने सोचाई आयो ।  त्यहाँ पनि सघाएँ। हिलारीकै प्रेरण लिएर  सन् १९८९ देखि लगातार  नेपालमा मेडिकल क्याम्प   संचलन र्दै आएको छु ।

नेपालबारे हिलारीको धारणा कस्तो थियो ?

उनि नेपाल प्रेमी थिए । एक दिन उनले मलाई ‘सगरमाथा आरोहण गरेकोमा पश्चताप लागेको छ ।’  भने ।  किन पश्चताप गरेको ? भनेर मैले सोधेको थिएं ।  सगरमाथा फोहोर बन्दै गएकोमा उनलाई चित्त दुखेको रहेछ । जवाफमा उनले भनेका थिए   ‘मैले   सगरमाथा  आरोहण गर्न शुरु गरेकाले अरु आरोहिले पनि चढ्न  शुरु गरे । जसका कारण सगरमाथामा फोहो थुप्रिन्दै गएको छ ।’  सगरमाथा सफा हुनुपर्छ भन्थे उनी  ।

 ३२ बर्षसम्मको नेपाल यात्रालाई कसरि समिक्षा गर्नुहुन्छ ?

नेपाल मन पराएकाले अहिलेसम्म खासै दुख कस्टको अनुभूति भएको छैन । प्रत्येक बर्ष जान पाएकाले बरु गौरवको अनुभूति भइरहेको छ  । धेरै कोरियनहरु हिमाल चढ्न र हेर्न जान्छन । म पनि हिमाल मन पराउन्छु तर उनीहरु हिमाल हेर्छन मान्छे( नेपली समाज) हेर्दैनन् ।  प्रकृति हेर्छन तर  सस्कृति बुझ्दैनन् । यहाँबाट जाँदा आफ्नो लक्ष सम्झेर गएका हुन्छन । लक्ष सफल असफल भएपछि उनीहरुलाई घर फकिर्न हतारो हुन्छ । तर मलाई नेपाली जनजीवनबारे गहन अध्ययन गर्न मन लाग्छ । अध्ययनबाटै प्रेरित भएर नेपाली कला सस्कृतिलाई कोरियाली समाजमा प्रचारप्रसार पनि गर्न पाएको छु । त्यसैले सुखद अनुभूति धेरै छन् ।

यहाँको समाजमा नेपाली कला,सस्कृति चिनाउन केके गर्नु भयो नि ?

हरेक पल्ट नेपाल जाँदा सस्कृतिवीदहरुसंग भेटेर नेपाली सस्कृतिबारे जानकारी लिने गरेको छु ।  साथै यससंग सम्बन्ति पुस्तकहरुको अध्ययन पनि उतिकै गरेको छु । त्यसरी अध्ययन गरेर मैले सारम ग्वा सान ( मान्छे र पहाड ) र सान ( पहाड) दुइ पत्रिकामा सन् १९८२ देखि २०१२ सम्म प्रत्येक महिना नेपालको जनजीबन ,कला र सस्कृतिबारे लेख प्रकाशन गरेको थिएँ । २००४ मा जागिरबाट अवकाश लिएपछि पूर्णरुपमा दुइदेश बिचको कला सस्कृति आदानप्रदान गर्दै आएको छु । एक पल्ट नेपाली चित्रकारहरुलाई कोरिया बोलाउने र अर्को पल्ट  कोरियन कलाकारहरु नेपाल जाने क्रम चलिरहेको छ ।
‘थाउजन्ड इमेज अफ नेपाल’ कार्यक्रम तय गरेर नेपाली चित्रकारहरुको हजारवटा कला सोलकोमुटु मानिने सेजोङ सास्कृतिक हलमा हप्ता ब्यापी प्रर्दशन गरेको थिए । यस बाहेक एकेडेमीको क्षेत्रिय कार्यलयहरु  जेजु,ख्यंगी,खवन जस्ता प्रदेशहरुमा प्रदर्शनी गरिएको छ  । म बाचुन्जेल नेपाली कला,साहित्य र सस्कृतिको प्रचार गर्ने योजना बनाएको छु ।

नेपाली कलाबारे अवलोकनकर्ताको धारणा कस्तो छ त ?

नेपाली कला सस्कृतिलाई अवलोकन गरेर धेरैले चासो राखेर प्रश्न सोध्छन । अध्ययन गरेर कोरिएका कलाहरु जतैको भए पनि केहि समानता पाइन्छ तर धेरै नेपाली कलाकारहरु यति प्रतिभाशाली छन् कि उनीहरु अध्ययन बिना नै कला निर्माण गर्छन त्यसैले फरक देखिनु स्वाभाविक हो ।  म अक्सर भन्नेर्छु  कला,साहित्य र संस्कृतिमा नेपाल कोरियाभन्दा  धेरै गुणा धनी छ ।

‘नेपाल कल्चर सिरिज’ चाही कसरि शुरु गर्नु भयो नि ?

नेपालको कला सस्कृतिका बारेमा लेखिएका मेरा लेखहरु धेरै भएकाले हराउन्छन भन्ने चिन्ता थियो मलाई । म प्रोफेसर हुँदा चिकित्सा क्षेत्रको ४० भन्दा बढी पाठ्यपुस्तक लेखेको थिएँ ।  ति पुस्तकको प्रकाशकलाई मेरा लेखहरु कृतिका रुपमा प्रकाशित गरिदिन अनुरोध गरें । यसै अनुसार ‘नेपाल कल्चर सिरिज’ बनाएर कृतिका प्रकाशन भएको हो । यस सिरिज अन्तर्गत नेपाल  स्ट्याम्प आइकन एण्ड सर्ट ए स्से , स्प्रीट अफ हिमालय, ओ ब्यूटिफूल नेपाल, द ए स्से अफ बुद्धज फोर होली , र सेतोबाघ आएका छन् ।

अब  यस सिरिजमा कुन बिषय रोज्दै हुनुहुन्छ ?

अब नेपालको इतिहास अनुबाद गर्ने योजना बनाएको छु । त्रिभुवनदेखि हालसम्मको उपलब्ध भएकाले यसको अनुवाद गर्ने तयारी गरिरहेको छु । यसपाली धेरै पुस्तक पसलहरुमा त्यसउताको मानक नेपालको इतिहास खोजि गरें पनि पाउन सकिन । त्यसैले साथीहरुलाई खोजि दिन आग्रह  गरेको छु ।

‘रमाइलो संग बाच्न चाहान्छु’ (ना नन चुगुल्ते काजी छेमिक्के साल्को सिफ्दा ) शीर्षक को तपाइको कृति २०१३ मा बेस्ट सेलर भयो । यसमा त्यस्तो के लेख्नु भएको छ ?

यो कृति गतसाल २ लाखभन्दा बढी बिक्रि भयो । यसमा मैले जीवन भोगाईको अनुभूतिलाई समेटेको छु । अवकाश प्राप्त जीवनलाई कसरि खुशी, सुखी साथ बिताउन सकिन्छ भन्ने बिषयलाई लेखेको छु । बिभिन्न सेवाबाट अवकाश पाएका तर अब के गर्ने भनेर अल्मलिएका मान्छेका  लागि यो कृति पथप्रदर्शक बन्यो । यो युवा र प्रौढ  दुवै पुस्ताका लागि उतिकै खुराक बन्यो ।

No comments:

Post a Comment