१७ अप्रिल , २०१५
ज्यानको बाजी लगाउनुपर्छ कोरियामा लाख कमाउन
इपिएस प्रणालीबाट कोरिया आएको १० दिनमै दुर्घटनामा परेका मनोज थापा आफ्नो भाचिएको हात र माथि पाखुरासम्म लागेको चोट देखाउँदै भन्छन्–प्लाष्टिकको ड्रम बनाउने कारखानामा काम गर्दागर्दै थाहै भएन। ड्रमले च्याप्दै, धकेल्दै लग्यो अनि यो दुर्घटना भयो। इपिएस प्रणालीबाट आउदा जोखिपूर्ण कामको बारेमा केही जानकारी समेत नदिएको उनले बताए। काठमाडौबाट हवाइजहाज चढेर सउल पुग्ने र त्यो वन (कोरियन रुपैयाँ) फल्ने रुखबाट चाहेजति वन टिप्ने सपना उनमा पनि नभएको होइन। तर दुर्भाग्य कमाएको वन छुन नपाउँदै औद्योगिक दुर्घटनामा परी उनले ३ महिना अस्पतालमा बताउनु पर्यो। ‘अब झन के होला र?‘ उनी प्रश्न गर्छन।
त्यसो त फलामको कारखानामा काम गर्दा नाडीमा गहिरो चोट लागेको र सधैँको लागि गह्रौं र कठिन काम गर्न नसकेर दुर्घटनामा परेका सोनाम शेर्पालाई कारखानाबाट साहुले निकाली दिए। उनले जवानीको जोस र जाँगर कारखानामा काम गर्दै बिताएका थिए। तर पाखुरा नचलेर काम छिटो गर्न नसकेपछि उनलाई साहुले कारखानाबाट निकाले। मालिकको अमानविय व्यवहारले उनी डिप्रेशनमा आएका थिए । यो नियती मनोज या सोनामको मात्र होइन कोरियामा काम गर्ने जसको पनि हुनसक्छ।
नेपालमा युवाको कोरिया जाने रहर÷वाध्यता दिनदिनै बढिरहेको छ। आजभोलि, कोरिया जानको लागि आवेदन भर्न लाइन लागेका युवाहरू देख्दा यस्तो लाग्छ। नेपालमा युवाहरूको खडेरी पर्दैछ। कुनै समय नेपालले नै खाद्यान्न सहयोग गरेको यो पूर्वी एसियाली मुलुक अहिले नेपाली युवापुस्ताहरूको आकर्षक गन्तव्य बन्दैछ। कोरिया, बहु–साँस्कृतिक र बहु–आयामिक परिचय यो देशसँग जोडिएको छ। उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि, समता र प्रजातन्त्रको लागि निरन्तर संघर्षशील सउल, ठुल्ठूला गगनचुम्बी भवनहरू देखेर, नेपालमा बिक्री हुने कोरियन फिल्म र ड्रामाहरू हेरेर देखिने बाहिरी रुपमा सुन्दर शहर आज हाम्रो युवा पुस्ताको लागि पसिना बेच्ने शहर बनेको छ।
नेपालमा जस्तो जहिले पनि लोडसेडिङ र अन्धकारमा बस्नुपर्ने बाध्यता नभएकोले पनि होला कोरियाको ‘मिराकल इकोनमी‘ अर्थात अच्चमै लाग्दो आर्थिक प्रगतिले धरैलाई आकर्षित गरिरहेको छ। इपिएस भिसामा नाम निकाल्नेहरू भाग्यशाली चिठ्ठा परेकोमा दंग छन् होला। तर कमैलाई थाहा होला– ‘मिराकल इकोनमी‘को पछाडि लुकेको यो देश कहाली लाग्दो गरी ‘किङ्गडम अफ इण्डष्ट्रियल एक्सिडेण्ट‘ अर्थात औद्योगिक दुर्घटनाको राजधानी भनेर चिनिन्छ। कोरियामा गर्ने काम भनेको थ्री डी (डेन्जर, डर्टी एण्ड डिफिकल्ट) अर्थात खतरानाक, फोहोर र कठिन हुन्छ। काम गर्दा औला काटिनु, हात काटिनु अनि सुतेकै अवस्थामा मृत्यु हुनु त यहाँको दैनिकि जस्तो भइसक्यो।
हाम्रा शिक्षित, अर्धशिक्षित र अशिक्षित युवायुवतीहरू रोजीरोटीका लागि यतैतिर तानिदै छन्, बेखवर अनि निर्धक्क बनेर। कोरियामा सबै कुराको सुनिश्चित छ जस्तै। इपिएस प्रणालीबाट कामदारको भिसामा ज्यानको बाजी लगाएर कारखानारुपी धरापमा आफूलाई होम्दैछन्।
हाम्रा धेरै दिदीबहिनी भएका गहना धरौटी राखी लिएको ऋण दलालको पोल्टामा खुत्रक्कै खसालेर कोरियाली नागरिकसँग नक्कली विवाह गरेर कोरिया आइरहेका छन्।
कोरियामा नेपाली श्रमिकहरूको इतिहास हेर्ने हो भने, सन् १९९४ को जनवरीमा कोरियाको राजधानी सउलमा गैरकानूनी रुपमा काम गर्दै आएका प्रवासी श्रमिकहरूको आन्दोलनले तहल्का मच्चायो ।
श्रमिक हकअधिकारको नारा लगाई महिनौंसम्म सडकमा नै बिताए। नेपाल, बंगलादेश, बर्मा लगायत विभिन्न्न देशका १४ जना औद्योगिक दुर्घटनामा परी घाइते हुनेहरूले लामो समयसम्म सडकमा संघर्ष गरिरहे। कोरियालीहरूलाई हामी प्रवासी मजदुर हौ हामीलाइ हाम्रो तलब देऊ, अंगभंग भएका हामीलाई उपचार खर्च र औद्योगिक क्षतिपुर्र्ति देऊ, मानविय व्यवहार गर भनी परिचय दिए। कोरियन जनसमुदाय र विभिन्न गैरसरकारी संस्थाहरू सबैले जिज्ञासा राखे के हो त यो प्रवासी श्रमिक भनेको? यसरी ३ महिनासम्म विभिन्न चरणका संर्घषहरू र आन्दोलन गर्दै उनीहरूले कोरियाली सरकारलाई झुक्न बाध्य बनाए।
उनीहरूले ‘प्रवासी श्रमिक भनेको कोरियाको अर्थतन्त्रको मेरुदण्ड हो। यदि कोरियाली सरकार कुनै पनि प्रवासी श्रमिकहरूको विषयमा गम्भीर हँुदैन भने कोरियाको विकास जुन गतिमा अगाडि बढिरहेको छ त्यो रोक्न सक्छौं” भन्ने घोषणा गरेका थिए। यस संघर्षमा सबैले साथ दिए र तत्काल श्रम ऐनमा प्रवासी श्रमिकहरूले पनि कोरियाली सरह समान कामको समान ज्याला र क्षतिपूर्ति पाउने श्रम ऐन बन्यो । प्रवासी श्रमिकहरूले पनि आप्mनो हक केही हदसम्म भए पनि प्राप्त गरे। यो नै कोरियामा प्रवासी श्रमिकहरू भनेर चिनाउने पहिलो र ऐतिहासिक आन्दोलन थियो।
तर, दिनहँु अंगभंग हुनेहरूको संख्या बढ्दो नै छ। हालसम्म हजारौं प्रवासी कामदारहरू आफ्नो अंगभंगको क्षतिपूर्तिका लागि माइगे्रण्ट ट्रेड यूनियन मार्फत श्रम विभागमा मुद्दा दर्ता गराएका छन। लामो समय सम्म कोरियाको श्रम अदालतमा मुद्दा खेपेका धरानका कुश राई आधा खुट्टा काटेर नेपाल फर्के । लाष्टिकको कारखानामा काम गर्दा प्लाष्टिकको दानासँगै उनको खुट्टा पनि पेलिएको थियो। ‘जिन्दगीभर निको नहुने घाउ लिएर जादैछु‘ जानेबेलामा राईले दुखेसो पोखे।
सन् १९९९ बाट कोरियामा काम गर्दै आएका धरानका इश्वर मास्केले पनि औद्योगिक दुर्घटनामा परी देब्रेहातका चार ओटा औलाहरू गुमाएका छन्। ‘सपना जस्तै लाग्छ बेला बेलामा‘ उनल हातका आंैला नियाल्दै भने। उनको बुढि औलामात्र सद्धे छ। सिमेण्टका टुक्राहरू बनाउने क्रममा उनको हात प्रेस जस्तै कटिङ्ग गर्ने मेशिनमा परेको थियो। थोरै जना कामदार भएको कारखानामा धेरै काम हेर्नु पर्ने र सधै कोरियन मानसिकता लिएर ‘पाल्ली पाल्ली‘ (छिटो छिटो) काम गर्नुपर्ने भएकोले पनि औद्योगिक दुर्घटना हुन गएको मास्केको अनुभव छ।
यहाका कारखानाका मेशिनमा सुरक्षाका विधि अपनाएको पाइँदैन। त्यही असुरक्षितले ज्यान समेत गुमाउनेहरूको सख्या दिनप्रति दिन बढ्दै छ। किनभने कोरियानले यस्ता थ्री डी काम गर्दैनन् । त्यो काम तेस्रो मुलकबाट सस्तो ज्यालामा इपिएस प्रणालीबाट आएका श्रमिकलाई दिइन्छ। त्यसैले कोरियाली कामदारहरूको तुलनामा औद्योगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकहरूको संख्या धेरै गुणा बढी रहेको छ। त्यसमा पनि काम गर्ने वातावरण फराकिलो र सहज नहुदा डिप्रेशन भई आत्माहत्या गर्ने नेपालीहरूको संख्या दिनहू बढिरहेका छ।
नेपाली युवालाई कोरिया पठाउने ठेक्का लिएका नेपाल सरकारका अधिकारीहरू, ‘इपिएस प्रणालीबाट कोरियामा लाखौं कमाइन्छ र यो वर्ष हजारौं नेपाली मजदुर कोरियामा खपत गरियो‘ भनेर धक्कु लगाउछन्। तर, यी निकायलाई इपिएस प्रणालीबाट आएका कति जना कोरियामा काम गर्दा अंगभंग भए भनेर कहिल्यै चासोे लिदैनन्। उनीहरूलाई एक जना कोरिया गए बापत ‘यति लाख आम्दानी भयो‘ भन्दै टाउको गन्दैमा फुसर्द छैन्। जो प्रवासी श्रमिकहरूले कमाएको रेमिटेन्सबाट देश चलिरहेको सधैं धाक लगाउँछन। उनीहरूकै रगत र पसिना शोषण गर्छन तर विदेशी भूमिमा मेशिनको घिर्नीमा चेपिएका र काम गर्दा गर्दै अकल्पनिय मृत्यु अंगालेका आफ्ना–दाजुभाइ, दिदीबहिनीको लास आउदा टुलुटुलु हेरिरहन्छन्। क्षतिपूर्तीको लागि समेत पहल गर्दैनन्। नेपालीले के पाए त कोरिया आएर ? कति लाख नै कमाए त? कतिजना जिन्दगीभर अंपाग भएर फर्के भने कति जनाको बिजोग कोरियाका चर्चहरूमा खुल्ला संग्राहलय जस्तै देख्न सकिन्छ। काम गरेर नेपाल फर्केपनि दीर्घ रोगबाट ग्रस्त छन्, धन कमाउन कोरिया गएकाहरू।
(
साभार सेतोपाटीमा प्रकाशित )
No comments:
Post a Comment