Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, April 5, 2014

कोरियामा महिलाका लागि महिला

दीपेन्द्र राई , काठमाण्डौ-
वैदेशिक रोजगारीका लागि कोरिया आकर्षक गन्यव्य मानिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) बाट नेपाली कोरिया जान थालेको ६ वर्ष भइसकेको छ । त्योभन्दा पहिले पनि विभिन्न शीर्षकमा नेपाली कोरिया पुगेका छन् । इपीएसमार्फत सन् २००८ बाट नेपाली कोरिया पुगे पनि बेसीशहर, लमजुङकी जुनु गुरुङ त्योभन्दा दुई वर्षअघि नै कोरिया पुगेकी हुन् ।

सन् २००६ मा व्यापार–व्यवसाय गर्न कोरिया पुगेकी उनले रेष्टुरेन्ट र मार्ट सञ्चालनमा ल्याएकी छन् । शुरुमा उनले शुभेच्छा मार्ट चलाइन् । भनिन्, ‘व्यवसाय उकालो लाग्दै गएपछि शुभेच्छा रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएकी हुँ ।’
गुरुङ कोरिया बस्न थालेको जति वर्ष भयो, मार्ट चलाउन थालेको पनि त्यति नै भयो । मार्टमा के–के पाइन्छन् ? उनले स्काइप कुराकानीमा भनिन्, ‘यहाँ (कोरिया) को बजारमा जे–जे पाइन्छन्, ती सबै कोरियाली सामान शुभेच्छामा पाइन्छन् ।’ मार्ट सञ्चालनमा ल्याइनुको निश्चित उद्देश्य हुन्छ नै । उद्देश्य प्रस्ट्याउँदै उनले सुनाइन्, ‘कोरिया आइपुगेका नेपालीलाई लक्षित गर्दै मार्ट खोलेकी हुँ ।’ भन्नुको मतलब उनका ग्राहक भनेकै नेपाली हुन् । नेपाली पनि आफ्नै देशका चेलीले खोलेको मार्टमै पुगेर कोरियाली सामान किन्ने गर्छन् । कोरियामा नेपाली व्यवसायीले खोलेको मार्टमा कोरियाली सामान किन्नुको मज्जा शब्दमा व्यक्त गर्न नसकिने मंगलटार, खोटाङ निवासी हाल कोरियामा रहेका रामप्रसाद राईले बताए ।
नेपालीले शुभेच्छामा सामान किन्दाको फाइदा पनि त्यत्ति नै छ । शुभेच्छाको शाखा काठमाडौंको खिचापोखरीमा रहेको छ । जसको नाम पनि शुभेच्छा नै राखिएको छ । नेपालमा यो मार्ट खोल्नुका कारण पनि कोरियाबाट नेपाल फर्केका नेपालीका लागि सहज होस् भनेर नै हो । कसरी ? उनको तर्क थियो, ‘नेपाली घर फर्कंदा कोरियाली सामान धेर–थोर लैजान चाहन्छन् । आफूसँगै जहाजबाट सामान लैजाँदा खर्चिलो हुने गर्छ । नेपालीले कम खर्चमा कोरियाली सामान नेपाल पु¥याऊन् भनेर नेपालमा पनि शुभेच्छा मार्ट खोलेकी हुँ । काठमाडौंमा खोलिएको मार्टमा पनि कोरियाली सामानमात्रै पाइन्छन् । कोरियामा रहेको उनको मार्टमा आफूलाई मन परेको सामान छानेर पैसा बुझाएपछि सम्बन्धित व्यक्तिले नेपाल फर्केपछि त्यो सामान नेपालको मार्टमा गएर लिन सक्छन् ।’ यसो गर्दा कम खर्चिलो हुने उनको दाबी छ । उनले कोरियाली सामान नेपाल पठाउँदा ‘सिप कार्गाे’ गर्ने गर्छन् । यसरी सामान पठाउँदा ढुवानी खर्च कम पर्छ । नेपालीले कोरियामा किनेको सामान निश्चित मूल्यभन्दा दुई,चार पैसा बढी अर्थात् ढुवानी खर्च बुझाउनुपर्छ ।
व्यवसायी गुरुङले सन् २००९ देखि रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । यहाँ नेपाली भान्छामा पाक्ने सबै परिकार त पाक्छन् नै साथै भारतीय परिकार पनि पाक्छन् । रेष्टुरेन्टका ग्राहक कोरियाली र नेपाली हुन् । ‘कोरियालीले भारतीय र नेपालीले नेपाली परिकार खान रुचाउँछन्,’ जुनुको भनाइ छ, ‘साताभरि कोरियाली परिकार खाएको जिब्रोलाई एक दिन नेपाली परिकारको स्वाद लिनुको मज्जा बेग्लै हुन्छ नि ।’ उनको भनाइमा दम छ । त्यही भएर एक दिन भए पनि नेपाली परिकार खान कोरियाको राजधानी सियोलका तुङ्देमुनमा रहेको शुभेच्छा रेष्टुरेन्टमा नेपालीको भीड लाग्छ ।
शुभेच्छा रेष्टुरेन्टमा दुई नेपालीले काम पाएका छन् । उनीहरू पूर्णकालिक कामदार हुन् । जुनु र उनका श्रीमान् रिसमान गुरुङ पनि काममा खटिन्छन् । अल्पकालिक कामदारका रूपमाचाहिँ कोरियालीलाई नै राख्नुपर्ने यहाँ (कोरिया) को प्रावधान छ । कोरियालीको महान् चाड छुसक सलनालमा नेपाली रेष्टुरेन्टमा खुट्टा राख्ने ठाउँ हुँदैन । शुभेच्छामा बैठक, सेमिनार, व्रतबन्धलगायत विभिन्न पार्टी भइरहन्छन् । त्यतिबेला काम हेरेर कोरियालीलाई काम लगाउने गरिन्छ ।
यो त भयो जुनु गुरुङ व्यावसायिक चर्चा, व्यस्तता र सफलताको कथा । कोरियामा नेपाली व्यवसायी भनेर चिनिएकी उनले समाजसेवीको परिचयसमेत बनाएकी छन् । उनी महिलाका लागि महिला (वुमेन फर वुमेन) संस्थाकी अध्यक्ष पनि हुन् । यो संस्थाले कोरियामा रहेका नेपाली महिलामाथि आइपरेको समस्या समाधान गर्ने गर्छ । कोरिया आइपुगेका नेपाली महिलामध्ये कोरियालीसँग बिहे गरेर सम्बन्धविच्छेद गरी अलपत्र परेका, भिजिट भिसामा आई अप्ठ्यारोमा परेका, बिरामी परे पनि सम्बन्धित कम्पनीले नहेरेकालाई संस्थाले उद्धार गर्दै आएको छ । कतिपय महिला भने लामो समयसम्म काम नपाएर अप्ठ्यारोमा परेका हुन्छन्, त्यस्तालाई समेत संस्थाले उद्धार गरेको छ ।
सन् २०१० मा स्थापित वुमेन फर वुमेनले अप्ठ्यारोमा परेकालाई निःशुल्क खाने, बस्ने सुविधा दिएको छ । त्यतिमात्रै होइन, उसले अप्ठ्यारोमा परेकालाई पुनःस्थापनासमेत गर्ने गरेको छ । ‘दिदी, बहिनी, भाउजू भन्दै गुहार माग्न आउँछन् । परदेशमा बिचल्ली परेका महिलालाई सहयोग गर्नैप¥यो,’ अध्यक्ष गुरुङले भनिन्, ‘इपीएसबाट कृषिमा कोरिया आएका ९० प्रतिशत महिला विभिन्न किसिमका समस्यामा छन् ।’ स्थापनाकालदेखि अहिलेसम्म वुमेन फर वुमेनमा ५ सयभन्दा बढी महिलाले आश्रय लिइसकेका छन् । उनका अनुसार कोरियामा वर्ष दिनमा २० देखि ३० वर्षीया महिलाले छिटो–छिटो काम छाड्ने गरेका छन् । भनेको समयमा तलब नदिने, काम गर्ने ठाउँदेखि धेरै टाढा कोठा दिने भएपछि उनीहरू काम छाड्न बाध्य हुन्छन् । आफ्नै घरको दाजुभाइ कोरियामा नजिक–नजिक बसे पनि महिलालाई उनीहरूसँगै बस्न दिइँदैन । बिरामी हुँदा कतिपय पुरुषले फाइदा लिएर सहयोग गर्न खोज्नेलगायत समस्या दोहोरिइरहेपछि वुमेन फर वुमेनमार्फत सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गर्नुपरेको गुरुङको दाबी छ ।
कोरियामा नेपाली संघ–संस्था धेरै छन् । जातीयदेखि राजनीतिक र नेपालका ७५ जिल्लाका सामाजिक संघ–संस्था भए पनि महिलाको उपस्थिति कमै देख्न पाइन्छ । गुरुङले दुःखेसो पोखिन्, ‘कोरियामा सबैभन्दा बढी महिलाको समस्या छ तर संघ–संस्थामा उनीहरूको उपस्थिति देखिंदैन । यस्तो विकराल अवस्थामा पनि यहाँ स्थापित संघ–संस्थाले नेपाली महिलाको समस्या सम्बोधन गरेको नपाएपछि मैले संस्था खोलेकी हुँ ।’
इसीएसमार्फत कोरिया आए पनि कतिपय महिलाले भाषा नबुझ्दा कामबाट निकालिनुका साथै दुव्र्यवहारसमेत भोग्नुपरेको छ । भाषिक समस्यामा परेका महिलाका लागि भनेर जुनु गुरुङले गत फागुन ११ देखि कोरियाली भाषा तालिम दिन थालेकी छन् । तालिममा २० देखि ७० वर्षसम्मका दिदीबहिनी सहभागी भएको उनले जानकारी दिइन् ।
त्यतिमात्रै होइन, वुमेन फर वुमेनले कोरियामा रहेका नेपालीका लागि निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको छ । १८ महिनादेखि सञ्चालित सो शिविरबाट धेरै नेपाली लाभान्वित भएका छन् । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै उच्च रक्तचाप, एलर्जी, मधुमेह, डिप्रेसनका बिरामीलाई निःशुल्क औषधिसमेत दिने गरिन्छ ।
- गोरखापत्र


No comments:

Post a Comment