अशोक मैनाली
२९, जुन २०१५
तर पनि महान नेपाली जनताले रूंदा रूदै हास्न जानेको छ । लड्दा लड्दै उठ्न सिकेको छ । आफ्नै बलबुतोमा मुलुकको कायपलट गर्न सकिन्छ भन्ने यूवा जोश र जांगर संगालेर बसेको छ । महाभूकम्पपछि व्यक्तिगत रूपमा यो पंतिकार पनि आफ्नै क्षमता अनुसार महाभूकम्प प्रभावित क्षेत्रमा लागेको थियो र छ। अहिले नेपालको अवस्था 'असामान्य अवस्थापछिको सामान्य अवस्था'को घडीमा गुज्रिरहेको छ ।
तर केहि दिन यता दक्षिण कोरियाको नेपाली समुदाय बिचमा भएका गतिविधी ,पदको लागी भएको हानाथाप ,संचार माध्याम र सामाजिक सन्जालमा छताछुल्ल भएका गतिविधीले हामी सबैलाई पक्कै सोच्न बाध्य बनाएको छ ।हुन त अमेरिका लगायत अन्य मुलुकमा पनि नेपाली समुदायबिच यस्ता गतिविधि नसुनिएका होईनन्। कोरियामा रहेका नेपाली समुदाय ,जो बाध्यताले विदेशी भूमिमा पसिना बगाईरहेका छन् उनिहरूले यस्ता गतिविधीबाट के सिक्ने ? देश रोईरहेको छ तर विदेशमा पनि सामान्य पद र प्रतिष्ठा प्राप्तिको लागी जे पनि गर्न तयार हुनेहरूले नेपालका नेताहरूलाई गाली गर्नुको कुनै तुक छ ? एउटा जातिय ,क्षेत्रिय र कुनै अमुक संस्था जुन कानुनी रूपमा दक्षिण कोरियामा अवैधानिक छन् मतलब जुन संस्थाको कानुनी हैसियत छैन त्यस्ता संस्थाको नेतृत्वको लागी सबै मुल्य मान्यता र नैतिकतालाई तिलान्जली दिनेहरूले त्यहांको नेपाली समुदाय र मातृभूमीका लागी केहि गर्लान् भनेर कसरी पत्याउने ?
भर्खरै सम्पन्न कोरियाकै पुरानो भनिएको नेपाली संस्था 'नेपाली सम्पर्क समिती कोरिया'को १५ औं अधिवेशन पछि जसरी त्यहांको नेपाली समुदाय बिभाजित र पदको लागी जुन किसिमको कार्य(कुकार्य)हरू भए त्यो सांच्चै पिडादायी छ । मैले नेपालको जुन पिडा देखिरहेको र भोगिरहेको छु जसले गर्दा कोरियाको स्थानिय बिषयमा कलम चलाउन मन लागिरहेको थिएन ।
तर पनि गतिविधीहरू नियाली रहेको थिए। म संग लेख्नुपर्ने धेरै बिषय थिए 'भूकम्प पडितका नाममा केहि ठुलाहरूको मनोमानी' र 'आफ्नो भबिष्य र स्वार्थलाई केन्द्रमा राखेर गरिएको राहत वितरण' आदी। तर नेपाली सम्पर्क समितीको नाममा केहि दिनयता भएका तान्डव नित्यहरूले मलाई सोच्न बाध्य बनायो । सायद धैरैलाई सोच्न बाध्य बनायो होला ।
नेतृत्वको लाचारी र बेईमानी
नेपाली सम्पर्क समितीको निवर्तमान नेतृत्वले जुन किसिमको लाचारी र मुढे बल देखायो त्यो सांच्चै खेदजनक छ । अधिकांश नेपाली संघ संस्थाले अधिवेशन सार्न गरिएको आग्रहलाई किन बेवास्था गरियो अथवा यहि मितीमा नै अधिवेशन गर्नु पर्नाको कारण वा बाध्यता बारे किन जानकारी दिईएन ? कुनै रोगको कारण नै महत्वपूर्ण कार्य सम्पादन गर्नु हुदैनं भन्ने होईन तर निर्धारित मिती भन्दा यता उती गर्न नमिल्ने कारण बारे त स्पष्ट पार्न नसक्नु यो नेतृत्को गम्भिर भुल हो । झन् कार्य समितीकै सचिव र कोषाध्यक्षले सार्वजनिक विज्ञप्ती निकालेर अधिवेशन सार्नु पर्छ भन्दै गर्दा त्यसको बैधानिकता र नैतिकतालाई बेवास्था गर्नु एेतिहासिक गल्ति (हिस्टोरिकल ब्लनडर)नै हो ।
खेल खेल्ने तर नियम नमान्ने ?
अनेकौं आशंका र तनाव बिच अधिवेशन त भयो तर नेतृत्वको समझदारी नभएपछि चुनाव त गर्नै पर्थ्यो तर भयो पनि । तर निर्वाचनमा धांधली भयो भनेर अध्यक्षका दुई उमेद्ववारले परिणाम अस्विकार गर्ने निर्णय गरेको सुनियो । सायद चुनावमा केहि गडबढ भयो होला किन भने राजनैतिक ,क्षत्रिय र जातिय गुट र स्वार्थको बिचबाट पैदा गरिएका वा गराईएका पात्रहरूको बिचमा हुने प्रतिस्पर्धामा त्यसको गन्ध त आईहाल्छ र भयो पनि त्यस्तै । जस्तो रोपिन्छ त्यस्तै फल्ने हो । कागती रोपेर स्याऊको आशा गर्नु मुर्खताको हद होईन र ? सबैले आफ्नो ठाउंबाट जित्नको लागी सबै हतकण्डा प्रयोग गरेपछि अब तिता मिठा कुरा बिर्सेर अगाडी बढ्नु बाहेक अरू के बिकल्प छ र ?
नेपाली सम्पर्क समितीले आफ्नो औचित्य र आवश्यकता पुष्टी गर्न सकेको छैन । उसको भूमिका दिन दुई गुणा रात चौगुणा कमजोर बन्दै गएको छ । अब ईतिहासको ब्याज खाएर वर्तमानमा हक दावी गर्नु कत्तिको जायज होला ? एक समयको ठुलो र भयंकर जनावर डाईनोसर आज ईतिहासको गर्भ समित भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलना ठुलो भूमिका निभाएको 'नेपाल प्रजा परिषद'को कुनै अस्तित्व छैन । उनिहरू वर्तमानमा टिक्न नसक्नुको कारण नै समयको प्रभावलाई 'क्याच' गर्न नसक्नु हो । समयको गति संगै आफ्नो पाईला सार्न नसक्नु नै उसको बिनाशको कारण हो । नेपाली सम्पर्क समिती जिँउदो लास जस्तै भईसक्यो ।अबको नेतृवले यो जिउंदो लासलाई बोकेर आर्यघाट पुर्याएर सत्कार गर्छन् या घाटे बैधको सहायतामा बचाएर फेरी नयाँ जिवन भर्न सक्छन् त्यो त भबिष्यकै गर्भमा छ । नयां नेतृत्वलाई धेरै धेरै शुभकामना !
नेतृत्वको संकट
यो अधिवेशन संगै दक्षिण कोरियाको नेपाली समुदायमा नेतृत्वको ठुलो संकट देखिएको छ। यो अधिवेशनमा सिधा हेर्दा उमेद्ववारी दिएका पात्रहरूले हारेको जस्तो देखिए पनि यो हार र जित त्यहांका बडे बडे 'समाजसेवी'हरूको जित र हार भएको छ । यो त्यहांको नेपाली समुदायले बुझ्नुपर्न् गुह्य कुरा हो । सामाजिक सन्जाल र बिभिन्न माध्यामबाट भएका संवादहरूले के देखाए भने केहि मानिसहरूले अमुक व्यक्तिलाई जिताउन र हराउन जुन हर्कत गरे त्यो सार्है निन्दनिय छ । सबैलाई मिलाएर अविभावकिय भूमिका निर्वाह गर्नुपर्ने ठाऊंमा आफ्नो स्वार्थपूर्तीको लागी नेतृत्व लाग्नुले उनिहरूको क्षमतामा ठुलो प्रश्न चिन्ह उठेको छ । समाज वा देशले सहि र सवल नेतृत्व पाएन भने त्यो समाज र देशले ठुलो दुर्दशा व्यहोर्नु पर्ने हुन्छ । त्यो त नेपालको अवस्था हेर्दा सबैलाई थाहा भएकै बिषय हो ।
बिगतमा राजनिती ,जात ,धर्म र सम्प्रदाय भन्दा माथी उठ्ने रूद्द शर्मा जस्ता व्यक्तिहरू नेपालमा नै व्यस्त हुंदै गर्दा कोरियाको नेपाली समुदायमा सर्वमान्य नेतृत्वको अभाव टड्कारो रूपमा खड्किएको छ । उहांले भूकम्प प्रभावित क्षेत्रमा जसरी खट्नुभयो ,जुन समयमा नेपालको दुखमा साथ दिनुभयो त्यसले उहांको परिपक्कता ,उदारता र नेतृत्व क्षमतालाई प्रष्ट देखाउथ्यो । पछिल्लो समय उहांमा कुनै दलगत र क्षेत्रगत स्वार्थको कुनै गन्ध देखिंदैन थियो ।उहांबाट सामाजिक सन्जालमा अर्ति उपदेश दिएर कहिल्यै नथाक्ने, महाशयहरूले सिक्नुपर्छ ।
भूकम्प पिडितका नाममा आफु हिरो बन्न या आफुलाई केन्द्रमा राखेर जसरी कार्य भए त्यो साच्चै घृणित कार्य थियो । कोरियामा रहेका नेपालीहरूलाई उनिहरूले आफ्नो हली,गोठालो वा भरौटे सम्झेका छन् भने त्यो उनिहरूको गम्भिर भुल हो । आजको प्रत्येक यूवाले समाजमा भईरहेका घटनाहरूलाई अत्यन्तै मिहिन ढंगले अवलोकण गरिरहेको हुन्छ । चेतना भया !
-mainaliashok@yahoo.com
ashok mainali /facebook
-mainaliashok@yahoo.com
ashok mainali /facebook
No comments:
Post a Comment