अशु कोइराला
(क्योटो ,जापान )१५ ,मे २०१५ l
कुरा नेपालमा भूकम्प जानेभन्दा केहि दिन अघिको मात्र हो। फेसबुक चलाउँदा चलाउँदै मेरो आँखा एउटा पोष्टमा टक्क अडियो। जसमा एक विदेशी युवकले आफ्नो मृत्यु भएका पिताको चिता अगाडि सेल्फी खिचेर फेसबुकमा पोष्ट गरेका थिए।
यसपटक नेपालमा भुकम्प गए लगत्तै केही फेसबुक र टि्वटर प्रयोगकर्ताले देशको ऐतिहासिक धरहराको भग्नावशेषमा सेल्फी खिचेका तस्बिरहरु धमाधम सार्वजनिक गर्न थाले। कुरा यत्तिकैमा टुङ्गिएन। लाइक र कमेन्टका लागि मरिमेटने फेसबुके र टि्वटरेका जमातले भूकम्पपछिका दृश्य तथा अवस्था अपडेट गर्ने होडबाजीमा संवेदनशिलताको पराकाष्टा नाघे। कसैले राहतको लागि आएका अन्नका पोका हेलिकोप्टरबाट भुँइमा बजारेको दृष्यलाई नाक फुलाउँदै सेल्फी पोष्ट गरे भने कसैले भुकम्पले ज्यान गुमाएकाहरु भन्दै लाशका विभत्स तस्बिर पोष्ट गरे।
हुन त यस्ता फोटो सेयर गरेर उनीहरुले सूचना दिएको तर्क गर्लान् तर सबैजना यस्ता विभत्स दृष्य हेर्न सक्ने क्षमतावान हुँदैनन्। त्यसमाथि परदेशमा परिवारसँग छुट्टिएर बसेकाहरुले आफन्तका त्यस्ता विभत्स तस्बिर देख्दा के होला? सोच्न जरूरी छ।
यसको मतलब फेसबुक र टि्वटर जस्ता सामाजिक संजालले नराम्रा काम मात्र गरिहेका छन भन्ने विल्कुलै होइन। फेसबुक तथा टि्वटरे जमातले देशमा विपत्तिको समयमा मौकाको फाईदा उठाउन खोज्नेहरुलाई नङ्गयाउने काममा सघाइरहेको छ।
कतै भूकम्प पीडितका लागि भनेर पठाइएका खाद्य सामाग्री तथा पाल, त्रिपालमा ठूलाबडाले कब्जा गरेका समाचार तथा फोटो प्रकाशन, प्रसारण भइरहेका छन्। भूकम्पको नाममा राहत हडप्नेहरु टुइट र पोष्टबाट सार्वजनिक भइरहेका छन्। यी यस्ता पोष्टहरुले यतिबेला देशको सक्कली नायक र खलनायकको अनुहार छुट्टयाउने मौका दिएको छ।
देशमा हाहाकार मच्चिएको बेला अर्काले दान दिएको त्रिपालमा कब्जा जमाएर तासमा मस्त रमाइरहेका तिघ्रेहरुका तस्बिर पनि पोष्ट छन्, सामाजिक सञ्जालमा। भूकम्प पीडितको नाममा राहत लुट्न खोज्ने, देश शोकाकुल भएको बेलामा पोष्ट भएका यस्ता अशोभनीय तस्बिर तथा दृष्य देख्दा लाग्छ के यिनीहरु पनि मेरो प्यारो देश नेपालका नागरिक हुन? नेपाली हुन भने के अब यीनमा देशप्रतिको संवेदनशीलता हराइसक्यो त?
भूकम्प र त्यसपछिका पराकम्पन आउन अझै पनि छाडेको छैन्। भूकम्पकै कारण देश अझैसम्म पूर्ण रुपमा सुचारू हुन सकेको छैन्। भुकम्पबाट के कति आर्थिक, सामाजिक, मानसिक क्षति भयो त्यसको हिसाब गर्न सकिने अवस्था छैन। आफ्नो ज्यान जोखिममा राख्दै सेना, प्रहरी, समाजकर्मी अहोरात्र खटिरहेका छन देशको उद्धारका लागि। यस अवस्थामा सरकारको मुख ताक्नुको साटो जिम्मेवार नागरिक बनी आफ्नो क्षेत्रबाट योगदान गर्न सके देशले छिटो गति लिन्थ्यो कि।
-: सेतोपाटी
-: सेतोपाटी
No comments:
Post a Comment