आन्यङ्हासेयो !
तिमी आशाका अनगिन्ती विम्ब बोकेर कोरिया आउने लाइनमा छौ।
थ्री डी काम र टु डी सम्मान (डर्टी, डेन्जर, डिफिकल्ट) र (डन्की र डग) बन्नका लागि तिमीले भाषा परीक्षाको आवेदन दियौं। अघिल्लो दिन साँझ ९ बजेदेखि बिहान ११ बजेसम्म लाख रुपैयाँका सपना देख्दै तिमी लाइन बस्यौ। पुरै अन्धकारमा।
र आजभोलि कहिले उदास त कहिले हर्षले भाषा रटान दिएका छौं। मलाई थाहा छ, तिमीले अर्काको भाषा कसरी घोकिरहेका छौ।
समयको गतिशिलतासँगै तिम्रा लाखौं वनका महत्वकांक्षाका लिपी भाडाका भित्ता भित्तामा पोतेका छौ। उठ्दा, बस्दा, खाँदा, हिँड्दा जहाँ पनि तिमी गानादारामावासाआजाछाखाथाफायाआयाअयओयोउऊउईइ.... भनिरहेका छौ।
देशमा प्रवासिने लहर बढिरहेको बेला तिमी पनि काम, दाम र मामको खोजीमा सीमा नाघ्ने सुरमा छौं। राष्ट्र बनाउने दिमागमा सोच र शक्ति भएको तिमी नै यसरी विरक्तिएपछि मुलुकको भविष्य के होला?
मित्र, यतिखेर तिमी सोचिरहेका हौला ‘म एक युवक हुँ। परिवर्तनको उच्च छनक छ म भित्र। जिज्ञासा, चेतनासँगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शक्ति पनि छ। पहाड फोडेर मैदान बनाउने सामर्थ्य छ। त्यसैलै, जस्तोसुकै जोखिम मोल्न किन नपरोस दक्षिण कोरिया पुग्न ब्यग्र प्रतिक्षामा छु।’
हो, तिमीले देखेका छौ। सुनेका छौ। र कोरियामा डेढ लाख थाप्ने सपना पनि बुनेका छौ। तर ‘रियालिटी’ भोगेका छैनौ। देख्नलाई जति सजिलो छ नी, भोग्नलाई कैयौं गुणा गाह्रो छ।
झट्ट हेर्दा भौतिक जीवन विदेशमा बढी सुविधाजनक देखिन्छ। प्रविधि र विधिले मानव जीवन सरल छ। यहाँ आएपछि तिमीले आर्जन गर्ने धनभन्दा हजारौं गुणा बढी नमिठा अनुभूतिहरू पाउनेछौ। हिनताबोध, ग्लानी, व्यवहारमा अभाव, मनमा अशान्ति, र स्वाभिमानमा चोटै चोट यावत्। यसैबीच तिमीले समय, पैसा र ज्ञानको महत्व भने मज्जाले बुझ्ने छौ।
नेपालमा बस्नेहरूले सीमाना नाघ्नेलाई भाग्यमानी सम्झन्छन्। एक अर्थमा त्यो सही पनि हो। तर यथार्थमा प्रदेशमा नमीठा अनुभूतिहरू धेरै हुन्छन्। स्वदेशको विधि र व्यवस्थापन निकै नै कमजोर छ। जसले जहाँ जे गरेपनि मनपरितन्त्र छ। नियम–कानुन गरीब–दुःखीका लागि मात्र छ। दैनिक उपभोग्य वस्तुदेखि औषधि सम्म केही शुद्धता छैन।
तर यो अर्थमा त तिमीले जे गर्यौ ठिकै गर्यौ जस्तो लाग्छ। कोरियामा एउटा घेरामा बस्न पाइन्छ। पसिना बगाएर खान पाइन्छ। अनि नयानयाँ प्रविधिसँग साक्षात्कार हुन पाइन्छ।
मित्र, तिमी स्वदेशमा सक्षम छौ। विदेशमा आएपछि अन्धो अदक्ष बन्छौ। तिमीलाई एउटा काम जान्नको लागि सयौं पटक ‘रिपिट’ गर्नुपर्छ। यहाँका कुनै पनि काम गर्न त्यति सहज छैनन्। दैनिक १० घण्टाभन्दा बढि लगातार कठोर परिश्रम गर्नुपर्छ। सुरुमा भाषा, छिटो–छिटो काम नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न निकै गाह्रो हुनेछ। त्यतिबेला मनलाई हलचल नगराउनु नि। नत्र जे पनि हुनसक्छ।
मित्र, यहाँ आउने आशमा तिमी जति खुसी छौ त्यति खुसी नेपालमा बस्ने सायदै होलान्। त्यो परिणामको नतिजा तिमी अवश्य भोग्नेछौ। तिमीले हासिल गरेको ज्ञान र सीप विपरित काम गर्नुपर्दा।
त्रिभुवन विश्वविद्यालयले तिम्रो ज्ञान र चरित्रलाई दिएको डिग्रीको प्रमाणपत्रका प्रतिलिपिहरु बोकेर छाती फुलाइरहेका छौ। तर, यहाँ ती प्रमाणको केही पनि काम छैन।
तिम्रा हरेक म्यासेजका रिप्लाई दिँदा दिँदा थाकेको म अब बढि के भनौं? तिमी पढेका छौं। जानेका छौं। र बुझेका छौं।
देशमा अवसर नपाइने होइन साथी, पाइन्छ। तर, योग्यताका आधारमा नभई व्यक्ति र पूँजीका आधारमा। अहिलेको विधि एवंम जीवन पद्धतिलाई विषाक्त राजनीतिले सर्लक्क निलेको छ। त्यसैले, तिमी स्वदेश छोडेर प्रवासिन आतुर छौ।
तिमी जस्तै अधिकांश युवाहरु सोच्दा होलान्–परदेशमा कमसेकम आफ्नो पसिना बगाएर खान त पाइन्छ। अनि नयाँ ठाउँ र प्रविधिसँग साक्षात्कार हुन पाइन्छ। वर्तमान एवम् भविष्यको सुखद जीवन साथै सन्ततीको सुरक्षित भविष्यको लागि आर्थिक उपार्जन हुन्छ। तर यो रहर नभई बाध्यता र विवशताको कडी हो।
मुलुकमा व्याप्त अन्याय, अत्याचार भष्टाचार, व्यभिचार, कुशासन र अराजक अवस्थाले सचेत वर्गलाई निराश बनाइरहेछ। नैतिक, इमानदार एवं कर्मनिष्ठ मानिस बाँच्नै धौधौ हुने अवस्थाकै कारण दैनिक तिमीजस्तै हजारौं युवा पलायन भइरहेका छन्। इमान, जवान र स्वाभीमानी नागरिकको खडेरी पर्दैछ।
जेजस्तो भएपनि तिमीले यहाँको सीप, मानिसको लगन र समयको महत्व बुझ्नू। अनि यहाँका नागरिकले आफ्नो राष्ट्रको उन्नतीका लागि के–के गरे? राजनीतिककर्मीले मुलुकको विकासको खाका कसरी कोरे?
अन्तमा आफ्नै देशमा ब्यवसाय गर्ने हिसावले शारीरिक एवम् मानसिक रुपले तयार भएर फर्कनू। ताकी जस्तोसुकै कठिनाई पनि सजिलै सामना गर्न सकियोस्।
लेखक
- निकुन्ज तिवारी(साभार श्रोत :- सेतोपाटी)
No comments:
Post a Comment