नरेन्द्र रौले ,काठमाडौं |
दक्षिण कोरियामा पाइलो टेके देखिनै मलाई धेरै चिजले लोभ्याउदै गयो। समुन्द्रलाई पुरेर बनाइएको इन्छन् अर्न्तराष्ट्रिय विमानस्थल भब्य लाग्यो। पुरानो गिम्पो अर्न्तराष्ट्रिय विमानस्थललाई बिस्थापित गर्दै सन् २००१ मा बनाइएको कोरियाकै ठूलो र संसारकै ब्यस्त यो बिमानस्थल एयरपोर्ट काउन्सिल इन्टरनेसनलबाट 'बेस्ट एयरपोर्ट' का रुपमा ७ चोटी सम्मानित भइसकेको रहेछ। गल्फ कोर्स, स्पा, क्यासिनो, कोरियन संस्कृति झल्काउने म्युजियम जस्ता सुबिधा सम्पन्न यस बिमानस्थलभित्रै रेल चढ्न पाउदा चकित बनायो।
'तिमी इन्छन् शहर मन पराउनेछौ।' स्वागतका लागि एयरपोर्टमै आइपुगेकी इन्छन् इन्टरनेसनलल रिलेसन फाउण्डेसनकी यु मिन्जोङले मलाई भनेकि थिइन्, 'अन्यत्र भन्दा यहाँ शान्त छ। अचेल लोभ लाग्दो बन्दै गएको छ।' नभन्दै विमानस्थलबाट १५ किलोमिटर पार गरेर इन्छन् आइपुग्दा पहिलो पटक युरोप पुगेझैं लाग्यो। तस्विरमा मात्र देखिएका गगनचुम्बी महल, चिल्ला र सफा सडक पहिलो पटक देख्न पाईयो। कति सम्म लोभ्यायो भने म बसेको १९ औं तलाको होटेलबाट इन्छन्को झिलिमिलि हेर्दै रात कटेको पत्तै भएन।
दक्षिण कोरियाको उत्तर पश्चिममा अबस्थित इन्छन् शहर आकषर्णको केन्द्र बन्दै गएको छ। यङजोङ टापुको किनारमा अवस्थित यो ब्यापारिक शहर कला, संस्कृति, वास्तुकलाका लागि धनी छ। बिशेषत समुद्री र अन्य विविध परिकारका खानपानको स्वाद लिन र रात्री जीवनको रमाइलो हेर्नका लागि यहा धेरैको घुँइचो लाग्ने गर्छ। द्रुत गतिमा विकास गर्न सफल एसियाका सहरमध्ये इन्छन्को नाम अग्रपंक्तिमा आउँछ। समुद्र, जमिन र हवाइ मार्ग जोड्ने केन्द्र भएकाले पर्यटकहरुको गन्तब्य बनेको छ।
इन्छन्ले किन पनि यतिबेला संसारको ध्यान तानिरहेको छ भने आउने वर्ष यहाँ हुन लागेको 'सत्रौं एसियन खेलकुद इन्छन् २०१४' (17th Asian Games Incheon 2014) को भव्य तयारी गरिरहेको छ। सेप्टेम्बर १९, २०१४ देखी १६ दिन सम्म चल्ने एसियन खेलकुद प्रतियोगितामा २८ वटा ओलम्पिक र ८ वटा ओलम्पिक भन्दा बाहिरका खेलहरु आयोजना हु“दैछन्। तिब्र आर्थिक बृद्धिदर भएको इन्छन्ले कोरियाको आर्थिक विकासमा पनि ठूलै योगदान पुर्याइरहेको छ। सामसुङ लगायत यस्तै अन्य ठूला औद्यागिक कम्पनिहरु यहा लगानी गर्ने तयारीमा छन्। अझै इन्छन् आफ्नो रुप फेर्न प्रतिबद्ध भएको सुनाए इन्छन् मेटो्रपोलिटन शहरका डेपुटि मेयर किम क्योहियुङले।
ईन्छन्देखि राजधानी सउल हुदै जापानसँग सिमा जोडिएको बुसान शहर घुम्दा सबैतिर समानान्तर विकास भएको पाईयो। जता गएपनि दु्रत गतीको इन्टरनेट सेवा, फराकिला र चिल्ला सडक, सुरुङ मार्गको प्रयोग, रेल र गाडीको सुबिधायुक्त कोरियाको जीवनशैलीले नलोभिनेहरु कमै होलान्। दुई हप्ता कोरिया बसाईमा आकर्षित गर्ने थुप्रै कुराहरु भेटिए। यात्रा गर्दा चिल्ला सडकहरुमा कहिंकतै एक टुक्रा कागज पनि देखिएन, धूलो पटक्कै उडेन, एक दिन पनि ट्राफिक प्रहरी देखिएनन्, गाडीले हर्न बजाएको पनि सुनिएन। गाडी चढ्न धेरै कुर्न परेन, सिट पाउन संघर्ष गर्नै परेन, कतै जाममा फसिएन। कोरियामा यि सबै सुबिधामा रमाईरहदा पटक पटक काठमाडौंको अबस्था सम्झेर कटक्क मन खान्थ्यो।
कोरियाली चासो
एसियामा हुने गरेका हरेक स–साना घटनाहरुले कोरियालीलाई चिन्तित बनाउँदो रहेछ। अन्तरदेशिय द्वन्द्व, अशान्ति, हत्या, हिंसाका खबरले उनीहरु आक्रान्त बनेका छन्। अर्कोतिर आर्थिक मन्दि, राजनीतिक अस्थिरता जस्ता समस्याहरु विद्यमान छन्। यस्तो बेला मिडियाको भुमिका कसरी प्रभाबकारी बनाउने भनेर कार्त्तिकको दोस्रो साता दक्षिण एसियाका पत्रकारहरुलाई एउटै थलोमा भेला हुने अबसर जुराएको थियो, इन्छन् इन्टरनेश्नल रिलेसन फाउण्डेसन (आइआइआरएफ) ले। पत्रकारहरुबिच अर्न्तक्रिया गर्न र दिगो सम्बन्ध बनाउन झण्डै १२ देशका एक सय पत्रकारहरु 'एसिया मिडिया फोरम २०१३' कार्यक्रममा निम्त्याईएका थिए।
दक्षिण एसिया क्षेत्रका साझा मुद्दाहरु मिडियामा उठाउन र समस्याको समाधान खोज्ने तर्फ पहल गर्न सल्लाह दिए, इन्छन् इन्टरनेश्नल रिलेसन फाउण्डेसन (आइआइआरएफ) का अध्यक्ष जुन योङ्उले। 'हामीबीच आपसि समझदारी हुनु जरुरी छ।' जुनले भने, 'एसियन पत्रकारहरुबीच सहयोग र अवसरको वातावरण सिर्जना होस् भन्ने हामी चाहन्छौं।' एसियन पत्रकारहरुबिच छलफल र अर्न्तक्रियाका लागी दिगो कार्यक्रमसंगै सहयोगका लागी आफ्नो संस्थाले प्रयास गर्ने उनले बताए। समृद्ध र सुन्दर समाजको निमार्ण गर्न मिडियाले अझै मिहिनेत गर्नुपर्ने तर्क गरे, कोरिया फाउण्डेसनका उपाध्यक्ष चा डुहियनले। 'हामीसँगै मिलेर एसियालाई अझ सुन्दर बनाउनतिर लागौं।' उनले भने।
'एसिया मिडिया फोरम २०१३' ले एसियन पत्रकारहरुबिच राम्रो नेटवर्क स्थापित गर्यो। कोरियन पत्रकार जियोङ चाङ्योको अबधारणा 'लिभ टुगेदर इन् एसिया', 'लिभ बेटर इन् एसिया' ले भ्रातृत्वको भावना विकसित गर्यो। युद्धबाट गुजि्रएको दक्षिण कोरियाको यो ऐतिहासिक शहरले शान्तिको समुन्द्रका रुपमा सन्देश दिन खोज्दैछ। सबै देशमा स्थायी शान्ति होस्, नागरिकहरु खुसी र सुखी बनुन् भन्नेमै उच्च ध्यान दिएको पाइयो।
कोरियाको अभियान, नेपाललाई सिकाइ
वीसौं शताब्दीको मध्यकालसम्म दक्षिण कोरिया राजनीतिक रुपमा नेपाल जस्तै प्रभाबित थियो। रक्तपातपूर्ण गहृयुद्ध र राजनैतिक अस्तब्यस्तता कायमै थियो। हाम्रो जस्तै ७० प्रतिशत जनता कृषिमा निर्भर थिए। दैनिक रुपमा छाक टार्न पनि धौधौ हुन्थ्यो। जनताहरु एक आपसमा एकता थिएन। मुलुक आर्थिक रुपमा टाट पल्टिएको स्थिती थियो। ठिक त्यही बेला ग्रामिण समुदायको उन्नतिका लागी कोरियाली सरकारले सेमाउल उन्दोङ (नया सामुदायिक अभियान) को प्रस्ताब अगाडि ल्यायो।
सन् १९७० मा कोरियाली भूतपुर्व राष्ट्रपति पार्क चङ हिले उदाहरणका रुपमा सेमाउल उन्दोङलाई प्रस्तुत गरेका थिए। सुरुमा ग्रामिण क्षेत्रबाट सुरु गरिएको अभियानपछि सहरी क्षेत्रमा लागु भयो। र, राष्ट्रिय अभियानका
रुपमा स्वीकार गरियो । पछि त्यसैलाई आधुनिकीकरण र औद्योगिकरणको नमुनाका रुपमा लिईयो। कोरियन भाषामा 'से' को अर्थ 'नया' र 'माउल' को अर्थ समुदाय वा गाउ भन्ने बुझिन्छ। सेमाउल भन्नाले नया वा सुधारिएको समुदाय वा गाउ भन्ने बुझिन्छ। स्थानीय समुदायलाई राम्रो बनाउन त्यही समुदायकै मानिसहरुको सहभागिता र प्रयासमा पुन निमार्ण गरिने अभियान हो। मिहिनेती, स्वयंसेबी, आपसि सहयोग र सहकार्यको भाबना हुनु अत्यन्तै जरुरी छ। स्थानीय स्तरमा उपलब्ध स्रोत, साधनको उपयोग गरेर कोरियालीले फड्को मारे।
सन् १९८० पछि त कोरियालीमा पत्याउनै नसकिने गरी परिवर्तन भयो। उच्च आर्थिक बृद्धिदर भएर औद्योगिक शहरका रुपमा परिचय स्थापित गर्यो। एशियाका चार सम्बृद्धशालि मुलुक मध्ये एउटा दरियो। हामीले गर्न सक्छौं, हामीले गर्नेछौं भन्ने भावनाका साथ अगाडि बढे। सबै जनताहरु एकजुट र संगठित बने। कर्मचारीतन्त्रदेखि राष्ट्रपति मनैदेखि राष्ट्रको विकासमा डटेर लागे।
अहिले बिभिन्न देशमा सेमाउल उन्दोङ (नया सामुदायिक अभियान) का नमुना गाउहरु बनेका छन्। हरेक वर्ष कोरियाली विद्यार्थी स्वयंसेबकहरु नया सामुदायिक केन्द्रहरु भ्रमण गर्छन्। आपसी सहयोग गर्दै आएका छन्।
हाम्रो जस्तो अविकसित मुलुकका लागि सेमाउल उन्दोङ अभियान उपयुक्त हुने देखिन्छ। ठ्याक्कै हाम्रो जस्तै राजनैतिक परिस्थीतिबाट गु्रजिएको दक्षिण कोरियाको मोडेललाई पछ्याउने हो भने विकास हुन धेरै समय नलाग्ला कि?
naren.raule@gmail.com
-सेतोपाटी
No comments:
Post a Comment