-कमलप्रसाद अर्याल- |
गुम्सिएको जीवनभित्र,
निस्सासिएको अस्तित्व बोकेर
अलग बाटोको खोजीमा
अघाएको जीवनसंग गन्तव्यको खोजीमा बरालिदै
घाटा नाफाको तराजुमा
मानवताको मूल्य तोकेर ,
चिनीमा टासिएको झिंगा जस्तो भएको
पत्तो नपाउंदै
झल्याँस्स ब्युझने
मेरा आश्रितहरू पार्सलको ठुलो पोको खोलेर
धिक्कार्दा हुन् , सम्झदा हुन् खोतल्दा हुन् पार्सलको रहस्य
जब अनेक सपना साँचेको अस्तित्व,
जड अचेत दुर्गन्ध सहित फर्कन्छ l
त्यो अत्याचार ,त्यो अन्याय त्यो विभेद
जसको कारक बन्यो
सासबाट लासमा रुपान्तरण
नखोली गयो ,मुक्तिको गोली खायो .
गलामा डोरी लायो,
खोलाको पानी खायो जे गर्यो
उम्कने बाटो खोज्यो ,
गुनासो कस्को गरोस्?
जन्म दिने बाबु आमा,दाजु भाइ आफूले मानेका प्रिय ,
आफ्नै मायालु,जीवनसंगी -संगिनी,
अपराधी अनुभूति गर्ने मन भावना
अरूले के दिए ?
जे दिए मैले लिएँ पीडा ,दुख,हण्डर,ठोकर, त्यसैले
स्वतन्त्र बाटो रोजें
,पीडक अनुभूति ,संवेदना ,
मन मरिदिएँ ,
मैले मुक्ति रोजें मैले उम्कने बाटो खोजें l
हिजो बाचेकोमा डाहा गर्नेहरू ,
आज नाटक गर्दैछन रे
छाती पिटी पिटी रुदैछन् रे ,
संजय जस्तो
मेरो गुप्तचर उपहास अलिकति घ्रणा मिसाएर सुनाउदै
म संवेदना सून्य ज्ञानी जस्तो शान्त स्थिर प्राज्ञ
हिज निर्दोष म बाचेकोमा धिक्कार्नेहरू ,
मेरो श्रम,मेरो पसिना र ममाथि रजाइ गर्दै बारम्बार सास थुन्नेहरू
मलाई पीडा दिन नपाएकोमा छाती पिट्दै छन् ,
म कुहिनुमा
मेरै गल्ती देखाउदै
इतिहास सरापेर सन्तोष मान्दै छन्,
हिज बाच्न नदिनेहरू
पीडामाथि पिडा थप्न नपाएर
फगत असन्तोषको आगो ओकल्दै छन् रे!!
-कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
No comments:
Post a Comment