Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 10, 2014

इपिएसको चौथो भाषा परीक्षा उत्तीर्ण कामदार सोमबारदेखि कोरिया जाने

मधुजंग पाण्डे ,काठमाडौं |
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत चौथो कोरियन भाषा र सीप परीक्षण परीक्षा उत्तीर्ण भई श्रम सम्झौता भएर आइसकेका कामदारलाई  सोमबारबाट दक्षिण कोरिया पठाइने भएको छ । नेपाली कामदारको उत्कृष्ट गन्तव्य दक्षिण कोरिया जानका लागि सन् २०१३ को भाषा परीक्षा उत्तीर्णसमेत गरी २ हजार २ सय ५० जनाभन्दा बढीको श्रम सम्झौता प्राप्त भइसकेकाले चौथो लटका कामदार सोमबारदेखि नै जान थाल्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले सोमबारबाट चौथो भाषा परीक्षा उत्तीर्ण कामदार दक्षिण कोरिया पठाउने क्रम सुरु हुने बताए । उनले चौथो कोरियन भाषामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट परीक्षार्थीको सीप परीक्षणको रिजल्ट गत १ पुसमा सार्वजनिक गरी भाषा परीक्षा उत्तीर्ण सबैको नाम ईपीएसले मानव संशाधन विकास (एचआरडी) कोरियामा पठाएको र कोरिया जान योग्यहरूको सूची रोस्टरमा नाम उल्लेख भएकामध्ये अहिलेसम्म २ हजार २ सय ५० जनाभन्दा बढीको श्रम सम्झौता प्राप्त भएकाले उनीहरूलाई सोमबारबाट पठाउन लागेको जानकारी दिए ।
उनले अहिलेसम्म श्रम सम्झौता प्राप्त भएकामध्येबाट २५ जनालाई सोमबार पहिलो लटमा, आगामी १० चैतमा २ सयजनालाई दोस्रो लटमा र बाँकी अन्यलाई क्रमशः विभिन्न चरणमा पठाउने बताए । दक्षिण कोरियाले सन् २०१४ का लागि उत्पादनमूलकतर्फ मात्र नेपालबाट ५ हजार ७ सयजना कामदारको कोटा छुट्ट्याएको जानकारी दिँदै बाँस्तोलाले भने, ‘यसबाहेक कृषिजन्य तथा पशुपालनतर्फ पनि १५ सयभन्दा बढी कामदार जाने अपेक्षा गरेका छौं ।’
कोरियाबाट एक महिनामै २ हजार २ सय कामदारको श्रम स्वीकृति प्राप्त भएको यो नै पहिलो रेकर्ड बताउँदै उनले यही रफ्तारमा कोरियाले कामदारको श्रम सम्झौतापत्र पठायो भने यसपालि रोस्टरमा नाम उल्लेख भएका सबै कामदार छिट्टै जाने दाबी गरे । उनले सन् २०१३ को भाषा परीक्षा उत्तीर्णमध्ये जसको नाम ७ हजार ७ सय ७८ जनाभित्र परेको थियो, त्यहीमध्येबाट यो श्रम सम्झौता प्राप्त भएको जानकारी दिए । अहिले दक्षिण कोरिया जाने कामदारको कुल लागतखर्च ८८ हजार २ सय रुपैयाँ ९९ सय अमेरिकी डलर नलाग्ने र उनीहरूले मासिक न्यूनतम १० लाख ८८ हजार कोरियन वान पारिश्रमिक पाउने जानकारी गराउँदै उनले साताको ४२ घन्टाका दरले मासिक २६ दिन काम गरेबापत सो पारिश्रमिक पाउने बताए ।
उनले ईपीएसमार्फत कोरिया जाने कामदारले यसबाहेक ओभरटाइम काम गरेबापत प्रतिघन्टा छुट्टै पारिश्रमिक पाउने र खानेबस्ने सुविधा पनि त्यहाँका रोजगारदाता कम्पनीको नियमअनुसार नै हुने बताए । ईपीएस शाखाका प्रमुख बाँस्तोलाका अनुसार नेपाल र कोरियाबीच भएको दुईपक्षीय सम्झौताअनुसार ईपीएसमार्फत जाने कामदार कोरिया पुगेपछि त्यहाँको विमानस्थलस्थित अध्यागमनमा नै कोरिया एचआरडीका प्रतिनिधि लिन आउँछन् । त्यहाँबाट गएका कामदारलाई कोरिया एचआरडीका प्रतिनिधिले नै खानेबस्ने सबै सुविधासहित चार दिनको ओरियन्टेसन तालिम दिई स्वास्थ्य परीक्षण गराउने छन् । त्यहाँको स्वास्थ्य परीक्षण गरेपछि मात्र एचआरडीका प्रतिनिधिले सम्बन्धित रोजगारदाता कम्पनीमा पुर्‍याएर जिम्मा लगाउँछ । कोरियाको एचआरडीद्वारा निर्धारित मापदण्डअनुसारको स्वाथ्य परीक्षणमा अनुत्तीर्ण भएका कामदारलाई भने तत्काल नेपाल फर्काइदिने प्रावधान रहेको समेत उनले जानकारी दिए ।
यसैगरी, गत १४ देखि १८ फागुनसम्म तीन वर्ष कोरिया बसेर फर्किई नेपाल बसेका कामदारहरूले मात्र दिने गरी चौथो सीबीटी (कम्प्युटरमा आधारित परीक्षा) का लागि आवेदन संकलन भएकामा कुल ८ सय ८२ जनाको आवेदन परेको र उनीहरूको परीक्षा यही १२ देखि २८ मार्चसम्म यस शाखाकै सीबीटी हलमा नै हुने गरी शाखाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको समेत उनले जानकारी दिए । यस शाखाले ईपीएसको सीप परीक्षणमा सहभागी हुनेहरूको नतिजा गत १ पुसमा नै सार्वजनिक गरेपछि कामदार पठाउने तयारीलाई तीव्रता दिएको दाबी गर्दै उनले चौथो कोरियन भाषा परीक्षा उत्तीर्णको लेबर कन्ट्र्याक श्रम करार प्राप्त भएकाहरूलाई पहिलो, दोस्रो र तेस्रो चरणमा गरी छिट्टै पठाइने बताए ।
गत अगस्टमा सम्पन्न दक्षिण कोरियाली भाषा परीक्षामा उत्कृष्ट परीक्षार्थीको सीप परीक्षण गर्ने काम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृषि क्षेत्रबाट ३ हजार ८ सय ९६ जना सीप परीक्षणमा सहभागी भएको ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार चौथो कोरियन भाषा परीक्षा उत्तीर्णमध्ये ७ हजार ७ सय ७८ जनाले रोजगार फाराम भरेका थिए । सो भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका थिए ।
ईपीएसले रोस्टरमा नाम उल्लेख भई श्रम सम्झौता आइसकेका कामदारलाई छिट्टै पठाउने बताएको छ । अहिले रोस्टरमा सहभागी अन्य प्रशिक्षार्थीको पनि धमाधम श्रम सम्झौता प्राप्त हुने कार्य जारी रहेको बताउँदै बाँस्तोलाले भने, ‘सोमबारबाट धमाधम कामदार कोरिया पठाउने क्रम सुरु हुन्छ ।’ उनले एचआरडी कोरियाले सोहीअनुरूप पहिलो चरणमा कामदार छनोट गरी श्रम सम्झौता पठाएको बताए ।
नेपाल र कोरियाबीच ईपीएसअन्तर्गत कामदार लैजान सन् २००७ मा श्रम सम्झौता भएपछि सन् २००८ देखि ईपीएसअन्तर्गत कामदार लिन भाषा परीक्षा सञ्चालन हुन थालेको हो । नेपाल र कोरिया सरकारबीच भएको सम्झौताअनुसार भाषा परीक्षामा उत्कृष्ट हुने ईपीएस प्रशिक्षार्थीको सीप परीक्षण गरी प्राथमिकताका आधारमा दक्षिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बाट सुरु भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ जना कोरियाका लागि छनोट भएका थिए । यसैगरी, दोस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गरेको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएका १० हजारभन्दा बढी कामदारमध्ये बाँकी रोस्टरमा रहने भएपछि सन् २०१३ का लागि सन् २०१२ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थिएन । ईपीएसका अनुसार सन् २०११ मा भएको भाषा परीक्षा उत्तीर्णमध्ये अझै ३ हजारजना रोस्टरमा बाँकी छन् । उनीहरू सबैको आगामी जुलाईदेखि रोस्टर अवधि सकिँदै छ । उनीहरूले रोजगारीमा लैजाने ग्यारेन्टी माग गर्दै लामो समय आन्दोलनसमेत गरेका थिए । एकैपटक सन् २०१४ का लागि गत असोजमा मात्र भाषा परीक्षा सञ्चालन भएको थियो ।
यसपालिको सीप परीक्षणमा उत्पादनमूलकतर्फबाट २ हजार ७ सय २९ र कृषिबाट १ हजार १ सय ६७ जना सहभागी भएका ईपीएस शाखाले जनाएको छ । सन् २०१४ मा दक्षिण कोरियाका लागि नयाँ कामदार लैजान लिइएको भाषा परीक्षामा ८ हजार २ सय उत्तीर्ण भएका थिए । भाषा परीक्षामा करिब ४७ हजार ७ सय ७२ नेपालीसहभागी भएका थिए । यसअघि, भएका तीनओटा परीक्षामा उत्तीर्णमध्ये साढे १८ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेको पनि ईपीएसले  जनाएको छ ।
अहिलेसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ट रहेकाले नेपालीको आकर्षण पनि निकै रहेको छ । हाल दक्षिण कोरियामा पुगेका ईपीएस कामदारले मासिक करिब १ लाख रुपैयाँ कमाउँछन्, यो रकम अन्य चार गुणा बढी हो । वैधानिक रूपमा ईपीएसमार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसअघि, निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभावी रकम उठाउन थालेपछि अहिले ईपीएस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यसैगरी, पहिले कोरिया गएर गैरकानुनी रूपमा बसेर फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि त्यहाँको रोजगारीमा जान पाउँदैनन् ।
गत वर्ष ५ हजार २ सय ३४ नेपालीले दक्षिण कोरियामा काम पाएका थिए । यस वर्ष दक्षिण कोरियाले विदेशी कामदारको संख्या घटाए पनि नेपालीको संख्या भने बढेको छ । सन् २०१४ का लागि ईपीएसअन्तर्गत कुल ५३ हजार विदेशी कामदार लिइने एचआरडीले जनाएको छ । गत वर्ष ६४ हजार विदेशी कामदार लिएको थियो । एचआरडीका अनुसार, दक्षिण कोरियामा कामदार पठाउनेमा नेपाल कम्बोडिया, इन्डोनेसिया र थाइल्यान्ड पनि चौथो स्थानमा रहेको छ ।
- राजधानी

No comments:

Post a Comment