Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 17, 2014

कोरियन भाषामा मनपरी असुली

वीरेन्द्र ओली , काठमाडौं, 
 कोरियन भाषा सिकाउने नाममा राजधानीमा सञ्चालित शैक्षिक कन्सल्ट्यान्सीहरूले मनपरी शुल्क लिने गरेका छन् । भाषा पास गराउने ग्यारेन्टीको आश्वासन दिँदै विद्यार्थीबाट कन्सल्ट्यान्सीहरूले मनपरी शुल्क असुल्ने गरेका हुन् । मनपरी असुली गर्दा समेत सरकारी निकायबाट कुनै अनुगमन हुन सकेको छैन ।
त्यस्ता कन्सल्ट्यान्सीले ‘ग्यारेन्टीका साथ कोरियन भाषा पास’ उल्लेख गर्दै बोर्ड तथा ब्यानर राखेका छन् । १ जना विद्यार्थीबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।
कोरियन भाषा कक्षा सञ्चालन गरिरहेको बागबजारस्थित ज्वाइन्ट भिजन र बोस्टन एकेडेमी, जेनिट, टाइमलगायत कन्सल्ट्यान्सीले होर्डिङ बोर्ड÷ब्यानर नै राखेर ग्यारेन्टीका साथ भाषा उत्तीर्ण गराउने उल्लेख गरेका छन्, जबकि सरकारले ल्याएको शैक्षिक परामर्श सेवा भाषा शिक्षण निर्देशिकामा कन्सल्ट्यान्सीले ग्यारेन्टीका साथ उत्तीर्ण भनेर शुल्क असुल गर्न प्रतिबन्ध लगाएको छ ।
उपत्यकामा कोरियन भाषा अध्ययन गर्ने विद्यार्थी संख्या करिब २५ हजारको हाराहारीमा छ । कोरियामा कामदारले ८ घण्टा काम गर्दा मासिक १ लाखसम्म कमाउँछन् । कोरियन भाषाको परीक्षा आगामी असोज १० र ११ गते हुने तालिका सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका ल्याए पनि व्यवस्थित गर्न नसक्दा कन्सल्ट्यान्सीले मनपरी शुल्क असुल्दै आएका हुन् । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)को माध्यमबाट भाषा परीक्षा उत्तीर्ण गरेका कामदारमात्र लिन थालेपछि ‘भाषा इन्स्टिच्युट’ सञ्चालकहरूलाई मनपरी शुल्क असुल्ने माध्यम बनेको हो ।
कुनै पनि कन्सल्ट्यान्सीले भाषा पास गराउने ग्यारेन्टी गर्न नसक्ने नेपाल शैक्षिक परामर्श संघका निवर्तमान उपाध्यक्ष विष्णुहरि पाण्डे बताउँछन् । विद्यार्थीलाई भ्रम सिर्जना गरी शुल्क असुल्ने संस्थालाई तत्काल कारबाही गर्नुपर्ने पाण्डेले बताए  कोरियामा १२ वर्ष काम गरी फर्किएपछि बागबजारमा कोरियन भाषा अध्यापन गराउने इन्स्टिच्युट खोलेका बज्रकुमार राईले पनि ग्यारेन्टी उत्तीर्ण गराउने जिम्मेवारी लिन नसकिने बताए । “विद्यार्थी स्वयंले परीक्षा दिने तथा उत्तीर्ण गर्ने भएकाले कन्सल्ट्यान्सीले ग्यारेन्टी पास कसरी गराउँछन् भन्ने मैले बुझ्न सकेको छैन,” उनले भने । विद्यार्थी ठग्न केही कन्सल्ट्यान्सी सक्रिय रहेको उनको भनाइ छ ।
राजधानीमा ग्यारेन्टी पास गराउने भन्दै दर्जनभन्दा धेरै कोरियन भाषा इन्स्टिच्युट तथा कन्सल्ट्यान्सी सक्रिय रहेको कोरियन भाषा सञ्चालकहरू नै स्वीकार्छन् । “ग्यारेन्टी पास गराइदिन्छौं भन्दै केही इन्स्टिच्युटले अध्ययन गराउन थालेपछि व्यावसायिक रूपमा अध्यापन गराउने हामीजस्ता मर्कामा परेका छौं,” राईले भने । विद्यार्थी स्वयंले अध्ययन गर्ने भएकाले इन्स्टिच्युटले ग्यारेन्टी पास गराउने जिम्मेवारी लिन नसक्ने राईले बताए ।
कोरियन भाषामात्र अध्ययन गराउने भन्दै अधिकांश संस्था दर्ता नै नगरी सञ्चालनमा रहेको पल्पसा फाउन्डेसनका सञ्चालक नवदुर्गा जोशीले बताए । अधिकांश इन्स्टिच्युट कोरियन भाषामात्र पढाउने नभई पैसा कमाउनमात्र खुल्ने गरेको जोशीले दाबी गरे ।
कोरियन भाषा अध्यापन गराउने संस्थाले ३ महिनामा अधिकांश संस्थाले १५ हजार रुपैयाँ लिने गरेका छन् । तर, कतिपय संस्थाले ग्यारेन्टी पास नगराए पैसा फिर्ता गर्ने भन्दै चर्को शुल्क लिने गरेको पाइन्छ । ग्यारेन्टी पास गराउने भन्दै चर्को असुली गर्ने र पछि सञ्चालक नै फरार हुने गरेको गुनासो विद्यार्थी गर्छन् ।

- कारोबार

No comments:

Post a Comment