Thursday, December 11, 2014

एउटा आप्रवासी कामदारको मृत्यु ...शुभ विदाइ

किम ह्यङ ह्यो ,कोरियन कबि 

-विरानो भूमिमा मृत्यु अङगाल्ने – पदम गुरुङ प्रति समर्पित 

गत  ७ तारिक कामबाट फर्कदा युवा तालिमकेन्द्रको पारिपट्टि रेलबाट ओर्लिएँ । गृष्म भरि सुन्दर रहने सूर्यमुखी फुलबारी अहिले उजाड भइसकेको छ । आजकाल बाँझो भएको त्यही सूर्यमुखी पूmलबारी हुँदै हिडें । हिडंदै गर्दा म आज कहाँ जाने होला भन्दै  आफ्नै पाइलाको फोटो खिचें । बिहानै देखि एउटा कामले हतारिएको थिएँ । गहन दुःख र पिडाका साथ १५ वर्ष विरानो भूमिमा बिताएको एउटा व्यक्तिलाई विदाइ गर्नु परको थियो ।

 कोरियन सपनामा रुमाल्लिएर अवैधानिक आप्रवासी कामदारको रूपमा १५ वर्ष कोरियामा बिताउनु भएका ४५ वर्षका पदम गुरुङको गत डिसेम्बर १ तारिख बिरामीको कारणले मृत्यु भएको थियो । मसँगै नेपाल आप्रवासी महिला कामदार केन्द्रको तयारी गरिरहेकी मेरी श्रीमती मन्जु गुरुङचाहिँ त्यो खवर सुन्नासाथ तुरुन्तै उहाँलाई राखिएको  अस्पताल पुगेकी थिइन । गत ४ तारिख अर्कै अस्पतालमा सारिएको थियो । ६ तारिखमा आएर नेपालीहरूले गुरुङजीको अन्त्येष्टिको व्यवस्थापन गरेका थिए । त्यसमा पनि उनी उपस्थित भएकी  थिइन् ।

 मैले सँधै मेरी श्रीमतीलाई नेपालीलाई दुःख कष्ट प¥यो कि गइहाल्नु भन्दै आएको छु । तिनीहरूसँग दुःख सुखका क्षणहरूसँगै बिताउनु भनेर अनुरोध गरेको छु । मैले श्रीमतीलाई गर्ने त्यो अनुरोध बिरानो भूमिमा एक्लिएकाहरूसँग मेरो सुखदुःखको आदानप्रदान पनि हो । अनि , मेरी श्रीमती नेपालीहरूका बीच  आवश्यक काम गर्न सक्ने न्यानो ह्दयकी बनून भन्ने चाहना पनि हो ।

 ६ गते श्रीमतीले श्रदान्जली रकम पनि दिएर अन्त्येष्टि व्यवस्थापनको नेतृत्व पनि गरिन् ।  बेलुकी १० बजे सम्म अन्त्येष्टि व्यवस्थापनमा व्यस्त रहेर फर्केको  कुरा ड्युटीमा भएको मलाई फोनद्धारा जानकारी दिइन् । अनि ७ तारिक अन्त्येष्टि गरियो । नेपालीहरूसँग आपसमा अभिवादन र सहयोग आदानप्रदान गर्दै बिरानो भूमिको ठिहीराँउने हिउँदलाई अलि तातो र न्यानो बनाउने काम गरिन् । म पनि एउटा कविता लेखेर त्यो चिसो हिउँदमा थोरै न्यानो सास फाल्ने कोशिस गर्दैछु ।

कविता

बिरानो भूमिको रातमा, पदम गुरुङको चिट्ठी

कुनै सुँक्कसुँक्कबिना
सास रोकेर रोएको रात,
चिसो बतासले
कपडाको कलर मिलाउने छुट पनि नदिने
डिसेम्बरको चिसो  रात ।

वुद्ध टाढाको बाटोमा हिंडे झैं
टाढा आइपुगेको बिरानो भूमिको रात,
साथीहरू दिनरात काममा मात्र जोतिएका छन्
चियर्सको एक घुड्को वा गुडनाइटको एक बोलि पनि नपाइने रात ।

पुरानो भएको बिरानो भूमिमा बानी पर्दै
कठिनाइ के हो थाहा नपाई कठिन दिन बिताउँदै
दाजुभाइ दिदीबहिनीको नाम पनि बिर्सदै
१५ वर्षे समय एकान्त चिहानमा फेरिएको यो रात ।

अब न त कुनै तृष्णा, न त कुनै पिडा
बिरानो भूमिको कामदार म
साथीहरूको काखबाट लुसुक्क कतै लाग्दै छु
उनीहरुको हातगोडाले मलाई पछ्याउँदै
कतै न जा भनेर मलाई चिहानमा लुकाएको
हिउँ परिरहेको डिसेम्बरको यो रात ।

सेतो हिउँ जस्तै सेतो खरानी भएर
हिमालयको श्रृखला पार गरेर
अनन्त यात्राको न्यानो उडान भर्दैछु
बाइबाइ , बाइबाइ !

अनुवादक- मोहन कार्की

No comments:

Post a Comment