Tuesday, November 11, 2014

कोरिया र चीन स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

नमस्ते नेपाल कोरिया संवाददाता 
   चीन र दक्षिण कोरियाबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। गत सोमबार भएको सम्झौताले द्विपक्षीय व्यापारमा रहेका तगारा हटाउने विश्वास दक्षिण कोरियाको छ। तर चामल र सवारीसाधन भने सम्झौतामा समावेश छैन। दुई वर्षभन्दा बढीका लागि भएको सम्झौताले आफ्नो देशका कपडा, मनोरञ्जन सामाग्री र अत्याधुनिक प्रविधिका इलेक्ट्रोनिक सामानका मझौला उत्पादकलाई फाइदा हुने विश्वास दक्षिण कोरियाको छ।

अहिले चीन उपभोक्ता सामाग्रीको विश्वमा सबैभन्दा ठूलो निर्यातकर्ता हो भने दक्षिण कोरिया सातौं ठूलो निर्यातकर्ता हो। सम्झौतापछि चीनमा दक्षिण कोरियाली उत्पादनमाथि लाग्ने कर घट्नेछ।
स्वतन्त्र व्यापार सम्झौतामा सोमबार चीनका राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुएन–हाईले हस्ताक्षर गरे। सम्झौता अब दुवै देशका संसदमा पेस गरिनेछ।
दक्षिण कोरियाली संचारमाध्यमले जनाए अनुसार उक्त सम्झौताले अनलाइन व्यापार र सरकारी खरिदसहित १७ वटा क्षेत्र समेटेको छ। सन् २०१३ मा दक्षिण कोरियाले चीनसँगको कृषि, वन र पशुपालनजन्य व्यापारमा ३.८ अर्ब अमेरिकी डलर बराबर घाटा बेहोरेको थियो।
अमेरिका प्रस्तावित ट्रान्स–प्यासिफिक पार्टनरसिप सन्धीमा सामेल हुने नहुने दोधारमा रहेकै बेला दक्षिण कोरियाले चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको हो। दक्षिण कोरियासँगको सम्झौताजस्तै स्वतन्त्र व्यापार सम्झौता चीनले अन्य आठ राष्ट्रसँग पनि गरेको छ। चीनले यसै वर्षको अन्त्यसम्म यस्तै स्वतन्त्र व्यापार सम्झौता अस्ट्रेलियासँग पनि गर्ने अपेक्षा गरेको छ।
सन् १९९२ मा चीन–दक्षिण कोरियाले कूटनीतिक सम्बन्ध सामान्य बनाएका हुन्। त्यसपछि दुवैबीच व्यापार वृद्धि भएर गत वर्ष २२८.९२ अर्ब अमेरिकी डलर बराबर पुग्यो। यो रकम सन् १९९२ मा भएको ६.३८ अर्ब अमेरिकी डलरको ३६ गुना बढी हो। सन् १९९३ पछि चीनसँगको व्यापारमा दक्षिण कोरियालाई नाफा हुँदै आएको छ। गत वर्ष चीनसँगको व्यापारबाट दक्षिण कोरियालाई ६२.८ अर्ब अमेरिकी डलर बराबर नाफा भएको थियो।

No comments:

Post a Comment