Saturday, August 9, 2014

कोरियामा साइँलाको चित्र

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 
पछिल्लो समयमा कोरिया नेपाली युवाका लागि ड्रीम ल्याण्ड बन्दै गएको छ । व्यबसाय, नोकरी छोडेर मात्र होइन कला, साहित्य र पत्रकारितामा स्थापित प्रतिभा समेत रोजगारी गर्न यहाँ आएका छन् । त्यस्तै एक प्रतिभाशाली नेपाली चित्रकार यतिबेला ख्यङगी दो ओच्छनको एउटा आल्मुनियम कम्पनीमा भेटिन्छन् । थरिथरि  रंग खेलाउने हातहरुले दैनिक १२ घण्टा आल्मुनियको  काम गर्छन । उनि हुन्  लमजुङका भीमसूब्बा तामाङ अथवा बाबु साइँला ।

सानैदेखि चित्रकलामा रुची राखेका साईलाले हालसम्म तेल र पानी रंगमा सयौं चित्र कोरिसकेका छन् । लमजुङ खुदीमा जन्मिएका उनले शुरुमा व्यंग्यात्मक चित्रहरु प्रसस्त कोरेर समाजलाई सूसुचित बनाउने प्रयास गरे । उनले २०६९ सालमा लम्जुङमा प्राकृतिक नेपाल शीर्षकमा एकल चित्रकला प्रर्दशनी समेत गरेका थिए ।
ललितकला क्याम्पसबाट स्नातक गरेका उनले क्यानभासभरि बिभिन्न रंगमा कोरियाको रंगीन सपना  कोरेका थिए ।  क्यानभासमा ती सपनाहरु कोरिरहंदा कुनै दिन आफू पनि कोरिया  पुगिन्छ भनेर चाहि सोचेका थिएनन् तर समयको गतिसंगै परिवर्तन भएको आकाक्षा पुरा गर्न यति बेला उनि यहां श्रम गर्दैछन् । आफ्नो सिर्जनाशील प्रतिभा कम हुन नदिन श्रम गरेर बाँकि रहेको समयमा पनि कुचि  र रंगमा तल्लिन हुन्छन् । कम्पनीले उपलब्ध गराएको उनको बासस्थानमा अनेक  रंगको संयोजन र अनेक भावका चित्र देख्न पाइन्छ ।
 कोरिया पुगेपछि साईलाले क्यानभासमा कोरेको सपना र वास्तविक भोगाईमा फरक पाए ।  आफूजस्तै प्रवासी कामदारको दुख देखेर उनले कुचि र रंगकै साहारा लिए । प्रवासी कामदारको दुखलाई उनले भित्ताभर सजाएका छन् । ती पोट्रेटमाहरुमा ७ लाख विदेशी मजदूरको मनोदशा उतारिएको छ । उनको पोट्रेटमा वैवाहिक सम्बन्धमा कोरिया आएर दु:ख पाएका विदेशी महिलाहरुको वेदना समेत ब्यक्त गरिएको छ । ती सबै पोट्रेटहरुलाई उनले ‘कोरियाको दुख’ शीर्षक दिएका छन् ।  यहि शीर्षकमा अर्को महिना हुने कोरियाली छुसक पर्वमा एकल चित्रकाला प्रर्दशनी गर्ने योजनामा छन् ।
प्राय मानबीय संवेदनासंग जोडिएको मूर्त चित्र कोर्न मन पराउने साईला आफ्नो भविष्य कला क्षेत्रमै देख्छन् । काठमाण्डौमा रहन्दा उनले टोखा कला कार्यशाला, नेपाल ललितकला मन्चद्धारा आयोजना गरिएको सामुहिक चित्रकला प्रर्दशनिमा सहभगिता जनाएका थिए । कला खारिन्दै गएपछि उनको सम्पर्क राष्ट्रियस्तरका चित्रकारहरुसंग हुँदै गयो भने राष्ट्रिय स्तरका गोष्ठी र प्रतिष्पर्धा  भाग पनि लिंदै गए । अहिलेसम्म २०६९ सालमा बौद्ध आर्ट ग्यालरीमा आयोजना गरेको ‘पीस एण्ड हार्मोनी’ उनका लागि अविस्मरणीय छ । संगैका साथीभाइ र आफन्तको सुझाव अनुसार छिट्टै नेपाल फर्केर यसै क्षेत्रमा केहि गर्ने योजनामा रहेका साईलाको चित्रहरु अमेरिका, क्यानडा र बेलायतसम्म बिक्रि भएका छन् ।

No comments:

Post a Comment