Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, February 7, 2014

के एक वर्षभित्र संविधानको निर्माण हुन सक्ने छ ?

–मोहनविक्रम सिंह
प्रमुख राजनीतिक शक्तिहरूले एक वर्षभित्र संविधानको निर्माणको प्रतिवद्धता प्रकट गर्ने गरेका छन् । तर चीजहरू जसरी अगाडि बढिरहेका छन्, वा संविधानको निर्माणमा भन्दा सत्ताको भागवण्डा राजनीतिक शक्तिहरूको बढी ध्यान जाने गरेको छ । तिनीहरूमाथि विचार गर्दा निर्धारित समयभित्र संविधानको निर्माणको सम्भावना झन पछि झन कम हुंदै गैरहेको छ । प्रमुख राजनीतिक शक्तिहरूका गलत नीतिका कारणले पहिलो संविधानसभाले संविधानको निर्माण गर्न सकेन । अब पुनः त्यही प्रकारको इतिहासको पुनरावृत्ति हुने त होइन ? त्यो आशङ्का बढ्दै गैरहेको छ ।
संविधानसभाको चुनाव भएको करिब २ महिनाको समय बितिसक्यो । अहिलेसम्म सरकारको गठन हुन सकेको छैन । सहमतिद्वारा सरकार बनाउने प्रयत्न असफल भैसक्यो । अब बहुमतीय आधारमा सरकारको गठनको प्रक्रिया प्रारम्भ भएको छ । बहुमतीय आधारमा पनि सरकारको गठन हुनु गलत कुरा होइन । त्यो प्रजातान्त्रिक पद्धति हो । बहुमतीय प्रणाली अन्तर्गत सरकारको गठन गर्दा दुवै तरिकाहरू अपनाउने गरिन्छ । एउटा, चुनावद्वारा संसदको नेता वा प्रधानमन्त्रीको चुनावका लागि बेग्ला बेग्लै उमेदवारहरू बन्दछन् र बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री बन्दछ । अर्को, कुनै पार्टीको नेतालाई विश्वासको मत प्राप्त गर्न भनिन्छ र विश्वासको मत प्राप्त भएपछि त्यो व्यक्ति प्रधानमन्त्री बन्दछ । बहुमतीय प्रणाली अन्तर्गत उक्त दुवै तरिकाहरू मध्ये कुनै पनि तरिकाद्वारा प्रधानमन्त्रीको चुनाव गर्न सकिन्छ । तर मुख्य प्रश्न प्रधानमन्त्रीको चुनाव सहमतीय वा बहुमतीय आधार मध्ये कुन तरिकाले गरिन्छ भन्ने होइन । मुख्य प्रश्न यो हो ः सरकारको गठनपछि सत्ता वा विपक्षमा भएका सबै राजनीतिक शक्तिहरू संविधानको निर्माणमा लाग्नु पर्दछ । विभिन्न राजनीतिक शक्तिहरूमा आफ्नो नेतृत्वमा सरकार नबने वा सरकारमा सहमति नभएमा संविधान नै बन्न नदिने प्रवृत्तिहरू पनि प्रायशः देखापर्ने गरेका छन् । गत कालमा संविधान बन्न नसक्नुका पछाडिको एउटा मुख्य कारण त्यो पनि रहेको छ । आखिर सबै पार्टीका नेताहरू प्रधानमन्त्री बन्दैनन् वा सबै राजनीतिक सङ्गठनहरू सरकारमा सहभागी बन्दैनन् । तर प्रधानमन्त्री वा सरकारमा सहमति नबने पनि संविधानको निर्माणमा सकारात्मक योगदान दिंनु सबै राजनीतिक शक्तिहरूको नैतिक दायित्व हुन्छ । के सबै राजनीतिक शक्तिहरूले त्यो दायित्वलाई गम्भीर रुपमा लेलान् ? सत्तारुढ राजनीतिक दलहरू वा सरकारसित कुनै राजनीतिक कैयौँ राजनीतिक मतभेदहरू हुन सक्दछन् । त्यस अनुसार बेग्लाबेग्लै राजनीतिक शक्तिहरूले परस्परमा आलोचना र विरोध वा विभिन्न नीति र कार्यहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । तर त्यो कारणले संविधानको निर्माणमा बाधा हाल्नु सही हुंदैन ।
जातिवादी र क्षेत्रीयतावादीहरूबाट संभावित बाधाहरूका कारणले पनि संविधान बन्न ढिला हुने वा नबन्ने सम्भावना पनि गम्भीर छ । जातिवादीहरूले जातिवादी प्रकारको संविधान नबनेमा र क्षेत्रीयतावादीहरू (मधेशवादीहरूले) उनीहरूले भने जस्तो क्षेत्रीयतावादी संविधान नबनेमा संविधानको निर्माण कार्यमा बाधा हाल्ने चेतावनी दिंदै आएका छन् । त्यसरी पनि संविधानको निर्माणमा बाधा पुग्ने धेरै नै सम्भावना छ । त्यो अवस्थामा दुई प्रकारका खतराहरू छन् ः प्रथम, जातिवादीहरूको दवावका कारणले जनादेशका विरुद्ध जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बन्ने । द्वितीय, तोकिएको समयभित्र संविधान नबन्ने वा संविधान नै नबन्ने । संविधानसभाको चुनावमा जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध स्पष्ट जनादेश दिएका छन् । त्यो अवस्थामा जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधान बन्नु जनादेशको विरुद्धको कुरा हुनेछ । त्यस्तो हुन नदिन र समयभित्र नै लोकतान्त्रिक संविधानको निर्माण गर्नका लागि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध उभिएका राजनीतिक शक्तिहरूमा बलियो ऐक्यवद्धताको आवश्यकता छ ।  तर लोकतान्त्रिक संविधानको निर्माणमा भन्दा सत्ताको विवादलाई नै प्राथमिकता दिने प्रवृत्तिहरूका कारणले उनीहरूका बीचको एकता कमजोर हुदै गैरहेको छ ।
माओवादी र एमाओवादीका बीचमा पार्टी एकताका लागि कुरा उठिरहेको छ । यस बारे हाम्रो स्पष्ट मत छ कि समान विचार भएका राजनीतिक शक्तिहरू धेरै टुक्रामा बाँडिनु भन्दा एउटै सङ्गठनमा सङ्गठित भएर काम गर्नु राम्रो हो । उनीहरूका बीचमा आधारभूत प्रकारको वैचारिक एकता छ वा छैन ? त्यसरी उनीहरूको बीचमा पार्टी एकीकरण सम्भव छ वा छैन ? त्यो उनीहरूले नै जान्ने र स्पष्ट गर्ने कुरा हो । त्यो कुरा जे भएपनि अहिले दुवै माओवादी सङ्गठनहरूका बीचमा एकताको कुरा उठिरहेको सन्दर्भमा लोकतान्त्रिक संविधानको निर्माणमा बाधा पुग्ने सम्भावनालाई पनि पूरै उपेक्षा गर्न सकिन्न । माओवादीहरू घोषित रुपले नै अहिलेको संविधानसभा र लोकतान्त्रिक संविधानको निर्माणको विरुद्धमा छन् । उनीहरूले संविधानसभाको नै विघटन पर्ने सम्म माग गरिरहेका छन् । त्यो अवस्थामा पार्टी एकताको कुरामा जोड दिने बेलामा उनीहरूले एमाओवादीलाई पनि त्यसको लागि सहमत गराउन पूरा प्रयत्न गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अर्कोतिर, एमाओवादी तेस्रो, शक्तिको रुपमा पराजित भएको, उनीहरूले राष्ट्रपति बन्ने वा सरकारको नेतृत्व गर्ने सम्भावना नरहेको र जातिवादी तथा क्षेत्रीयतावादी राजनीतिको पराजय भएकाले र उनीहरूले चाहे जस्तो जातिवादी वा क्षेत्रीयतावादी संविधान बन्न नसक्ने स्थितिको सृजना भएकाले माओवादीहरूसित एकता गरेर वा उनीहरूसित कार्यगत एकता गरेर लोकतान्त्रिक संविधानको निर्माणमा बाधा हाल्ने वा जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माणका लागि सरकारमाथि दवाव दिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । जातिवाद र क्षेत्रीयतावादका विरुद्धको प्रतिक्रियाको रुपमा नै जनताले एमाले र नेकालाई सम्मिलित रुपमा बहुमत दिएका छन् । तर उनीहरूको स्वभावजन्य कमजोरी के छ भने, प्रथम, एमाओवादीप्रति उनीहरूले बारम्बार दब्बु नीति अपनाउने गरेका छन् । द्वितीय, जातिवाद र क्षेत्रीयतावादका विरुद्ध पनि उनीहरूले स्पष्ट दृढ नीति अपनाएको पाइन्न । त्यो अवस्थामा जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेशका पक्षमा उनीहरूले दृढ नीति अपनाउछन् भनेर भन्ने कुरामाथि पूरा विश्वास गर्न मुश्किल पर्दछ ।
तत्कालका लागि राजावादीहरू ठूलो शक्तिका रुपमा अगाडि आएका छैनन् । गणतन्त्रका पक्षमा देशमा भएको बलियो जनमतका कारणले राजतन्त्रको पुनस्र्थापनाको उनीहरूको नीति सफल हुने सम्भावना कम नै देखिन्छ । आफ्नो त्यो उद्देश्य पूरा गर्न हिन्दू धर्मप्रतिका जनताका भावनाहरूलाई उपयोग गर्ने प्रयत्न गरेका छन् र अहिले समानुपातिक चुनावमा उनीहरूलाई प्राप्त केही सफलताका पछाडि त्यो कारणले पनि उनीहरूलाई मद्दत पुर्‍याएको कुरा प्रष्ट छ । उनीहरूले चुनावमा जेजति सफलता प्राप्त गरेका छन्, त्यसका आधारमा लोकतान्त्रिक संविधानको निर्माणमा उनीहरूले सकेसम्म बाधा हाल्ने प्रयत्न गर्ने कुरा स्पष्ट छ ।
उपरोक्त प्रकारको पृष्ठभूमिमा जातिवाद र क्षेत्रीयतावादका विरुद्ध भएका राजनीतिक शक्तिहरू बीचको बलियो एकताका आधारमा नै लोकतान्त्रिक संविधानको निर्माण गर्नु र गणतन्त्रलाई संस्थागत गर्नु सम्भव हुनेछ ।

No comments:

Post a Comment