Sunday, January 26, 2014

"बदनामका नामहरु" l

-कबिता-
बुद्धि मोक्तान  

हे बौद्धनाथ !
हे पशुपथिनाथ !
हे अल्लाहा र मस्जित
एक पल्ट जान्ने मौका देउ ,
एकपल्ट भनि देउ
एक पल्ट प्रस्ट्याई देउ
कसले गर्र्यो यस्तो बदनाम ?
किन गरिदैछ नाममा अन्याय ?
किन भैरहेछ नामहरुको  बदनाम ?

म छक्क पर्छु,
थुक्क ललितपुरे!
चार दोबाटोलाइ सातदोबाटो भन्यौ होइन ?
कत्रो महत्वकाक्षा, चार लाइ सात भन्ने ?
त्यसै सन्तान गणितमा फेल भएका होइनन !
दोबाटो त चार को हो नि , सातदोबाटो किन नि ...??

सुनेको छु, देखेको छु, भोगेको छु,
फल चुम्ने पुतली हो ,
रस चुस्ने पुतली हो ,रगिन हुन्छ पुतली ,आकर्षण हुन्छ पुतली
सायद
सायद पुतलीको रंग उड्यो,
र त खुइलिएको छ पुतली सडक
सायद पुतलीको पखेटा चुड्यो
र त भत्केको छ पुतली सडक
सायद पुतलीको एन्टेना भाचियो
र त लडेको छ खम्बा र पोल
कच्याक्कुचुक छ बाटो ,खचाखच छ बाटो
फोहोर छ सडक ,दुर्गन्धित छ सडक
र पनि ,
र पनि
गौरब छ नगरबासीलाई .... वा हाम्रो पुतली सडक..
वा हाम्रो पुतली सडक !!

पित्तलको टुटी आकाशतिर फर्केको,
कमिला हिड्ने  थुक्क सुन्धारा!
पलपल पद र कुर्सीका लागि
चलायमान र तापमान ठाउ सितल निवास
हरेक बिहानी बस्ती उठछ ,
प्रतेक क्षण सन्तानका साहिला र माइला
बिछोडको आसु पुछ्दै खाडी प्रस्थानमा जहाज चड्छन्
खाडीमा तीनै साहिला र माहिला नउठ्ने गरि सदालाई सुत्छन
साहिला र माहिलाको वियोगमा
हजारौ साहिली र माहिलिका चुरी फुटछन्
त्यहि बस्तीका चोकहरु मिलन चोक ??
त्यहि बस्तीका ठेगाना र लोकेसन मिलन बस्ती ?
किन अनुतरित छन् बदनामका यी नामहरु !!??
त्यसो त
प्यासले काकाकुल मान्छे छटपटाउदा
एक बुद,एक थोपा पानी ननिस्किने ठाउ पानीपोखरी यतै होला
खुट्टा टेक्ने ठाउ नभएको ,साधन चल्ने ठाउ नभएको
पैदल पनि ठेलम ठेल र पेलाम पेल हुने
बिसाल चोक पनि अन्यायको घेरामा
बदनामी  नाम बोकेर यतै रुदै होला

म प्रश्न गर्छु, म अन्योलमा छु
नाम माथि शका गर्नु स्वाभाविक ठान्छु
यहा बती छैन पानि छैन
ढल निकास, छैन बिकास छैन
वा सुबिधानगर वा !!
क्या नाम छ सुविधानगर !
यो सुविधानगर कि दुबिधानगर ??
कोहि छौ  बताई दिने??
कोहि छौ प्रस्ट्याई दिने
छौ भने ,
बटुवाको थकाइ मेट्ने एक टुक्रा इँटा र एउटा ढुगा नभएको तर
तर, जोरपाटीको नामले चिनिने
धुलैधुलो पाटीको अघिल्तिर बसौ
अनि
बेनाम र बदनामका नामहरुलाइ
 न्याय दिलाउन एक छिन गफौ..

बेनाम र बदनामका नामहरु माथि खोजि गर्ने
बेनाम बदनामका नामहरुलाई न्याय दिलाउन खोज्ने  हे बुद्धिमान !
यहा धनबहादुर गरीब होला ,
यहा बल बहादुर शक्तिहीन हुदा
बुद्धिमान मुर्ख हुदैन भन्न कसले सक्छ??
सोच !
आफ्नै नाममा राजनीति होला
आफ्नै नाममा प्रश्न उठला
के भो त मुर्खै भए पनि
कम से कम नाम त पायौ नि
क्या नाम छ वा बुद्धिमान !
क्या नाम छ वा बुद्धिमान !

बुद्धि मोक्तान 
काठमाण्डौ 

No comments:

Post a Comment