रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जानेको संख्या करिब १८ हजार पुगेको छ । सन् २००७ मा दुई मुलुकबीच ईपीएसअन्तर्गत कामदार लिने सम्झौता भएपछि अहिलेसम्म रोजगारीमा जानेको संख्या १८ हजार पुगेको हो । सम्झौतापछि सन् २००८ मा पहिलो पटक भाषा परीक्षा भएको थियो । त्यसपछि भएको सन् २०१० र २०११ को भाषा परीक्षामा उत्तीर्णसहित अहिलेसम्म १७ हजार ९ सय ३ जना रोजगारीका लागि कोरिया पुगेको ईपीएसले जनाएको छ ।अहिलेसम्म उत्तीर्णमध्ये १९ हजार ७ सय ३९ जनाको श्रम करार (लेभर कन्ट्र्याक्ट) आएको पनि जनाइएको छ । गत आव २०६९/०७० मा मात्र ४ हजार २ सय ३१ जना रोजगारीका लागि दक्षिण कोरिया गएका छन् । पहिलो भाषा परीक्षामा ६ हजार ५ सय ८६ उत्तीर्ण गरी कोरिया जान छनोट भएका थिए । यस्तै, दोस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गराएको थियो । सन् २०११ मा सञ्चालित भाषा परीक्षामा उत्तीर्ण भई ईपीएसको रोस्टरमा रहेका कामदारको नाम आगामी डिसेम्बरदेखि हट्ने भए पनि अझै कामदारको माग भने आइरहेको जनाइएको छ ।
अहिले ६ हजार कामदार रोजगारीका लागि ईपीएसको रोस्टरमा बा“की रहेका छन् । ईपीएसले सन् २०१३ का लागि करिब ९ हजारको रोस्टर तयार गरेको थियो । त्यसमध्ये सन् २०१३ सुरु भएपछि अहिलेसम्म ३ हजार ५ कामदारको मात्र श्रम करार (लेभर कन्ट्र्याक्ट) आएको ईपीएसले जनाएको छ । श्रम करार आएकामध्ये करिब दुई हजार ५ सय रोजगारीका लागि कोरिया गइसकेका छन् । तर, अझै ६ हजार रोस्टरमा रहेका कारण कोरियाले सबैलाई रोजगारीमा लैजाने अवस्था भने नरहेको ईपीएसले जनाएको छ । यद्यपि, सरकारले भने बढी कामदारलाई रोजगारीमा पठाउने प्रक्रिया अघि बढाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले रोस्टरमा अझै ६ हजार कामदार रहेकाले सबै कामदार रोजगारीमा जाने सुनिश्चितता नभए पनि बढीभन्दा बढीलाई पठाउन पहल भइरहेको जनाए । रोस्टरमा रहेकाले भने सबैको रोजगारी सुनिश्चित हुनुपर्ने माग राख्दै आन्दोलनसमेत गर्दै आएका छन् । कोरियाले सन् २०१४ का लागि भाषा परीक्षाको तयारीसमेत गरिसकेको छ । आगामी अक्टोबरमा २०१४ का लागि चौथो कोरियन भाषा सञ्चालन गर्ने कोरियाले जनाएको छ ।
No comments:
Post a Comment