Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 30, 2013

इलिगल नेपाली दूतावासमा आएपछि उसलाई त समातेर नेपाल पठाउने -राजदुत लामा l

नक्कली बिहे गरेर एयरपोर्टबाटै भाग्न खोज्ने ? -राजदुत कमानसिंह लामा

लामो समय नेपालमा बामपन्थी राजनीतिमा सक्रिय कमानसिंह लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुहुन्छ । अरु राजदूत कार्यक्षेत्रमा पुगेपछि विवादमा नमुछिए पनि लामालाई भने सिफारिस भएसँगै मानव बेचबिखन लगायतका गम्भीर आरोप लाग्यो । कार्यभार सम्हालेपछि पनि अघिल्ला राजदूत कमल कोइरालाले जस्तो नेपाली समुदायसँग सम्बन्ध राख्न नसकेको, नेपाली श्रमिकलाई हेप्ने गरेको, नेपालीहरुलाई कोरिया लगेर गैरकानुनी बनाई लुकाउने गरेको लगायतका आरोपहरु लामामाथि लागे ।
एमाओवादीको केन्द्रीय सदस्यबाट हटेर कूटनीतिक भूमिकाका पुगेका लामा पछिल्लोपटक लुम्बिनीबाट शान्तिदीप कोरिया लैजाने र विश्व शान्तिका लागि पहल गर्ने भन्दै तामझामपूर्ण कार्यक्रम गर्न नेपाल आउनुभएको थियो । यसै मेलोमा अनलाइनखबर डटकमले उहाँमाथि लागेका आरोप र कोरियामा रहेका नेपालीको अवस्थाबारे लामो कुराकानी गरेको छ :

नेपालबाट शान्तिदीप कोरिया लैजाने भन्दै तपाईले लुम्बिनीमा कार्यक्रम गर्नुभयो । यति धेरै खर्च र तामझाम किन गर्नुपरेको हो ?

विश्वशान्ति कायम गर्न ।

नेपालबाट कोरियामा शान्तिदीप लैजाँदा अहिले दुई कोरियावीचको तनाव कम हुन्छ त त्यसो भए ?

मैले निकै पहिलेदेखि शान्तिदीप कोरिया लैजाने योजना बनाएको थिएँ । अहिले संयोगमात्र त्यस्तो परेको हो । अहिले साँच्चिकै युद्ध भड्केला कि भन्ने त्रासको अवस्था छ । हामीले ठीक समयमा योजना बनाएका रहेछौं भन्ने देखियो ।

शान्तिदीप कोरिया लगेर के गर्ने योजना छ ?

बुद्ध नेपालमा जन्मिएका हुन् भनेर कोरियालीमाझ प्रचार गर्ने मुख्य उद्देश्य हो । कोरियाको हाइस्कुलमा अझै पनि बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख छ । जो कोरियालीले हाइस्कुल पास गरे उनीहरुलाई त बुद्ध भारतमै जन्मिएका हुन् भन्ने छाप छ । उनीहरुको दिमागबाट त्यो छाप हटाउनलाई मैले यसो गरेको हुँ । बुद्ध नेपालमा जन्मिएका हुन् तर बिदेशमा तिब्बतियन बुद्धिज्म भनेर चिनिन्छ, नेपाली बुद्धिज्म पो भन्नुपर्ने हो । होचाकी श्रीमती सबैकी भाउजू भनेजस्तै भयो, त्यसो त हुनुभएन नि ।

कोरियामा चार-पाँचवटा बुद्धिष्ट सेक्टरमध्ये जोगे अर्डर भन्ने सेक्टर छ । त्यहाँका १ सय ८ वटा गुम्बामा लगेर अखण्ड दीप बाल्ने योजना छ, सातवटा रथमा बुद्धको मूर्ती रथयात्रा गराउने योजना छ । मे ११ तारिखमा पाँच किलोमिटर परेड हुन्छ, लाखौं कोरियाली जनता हातमा बत्ती लिएर परेड खेल्ने योजना छ । त्यहीँ झाँकीमा नेपालीहरुको लाइन हुन्छ, जहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, स्वयम्भू र बौद्धको स्तूपा लगायत प्रर्दशन गरिन्छ । दुई कोरियावीच युद्ध भयो भने नेपाल प्रभावित हुन्न भन्ने छैन । त्यसैले हामी दुई मुलुकको सीमानामा शान्तिको प्रार्थना गर्छौं ।

यो कार्यक्रममा नेपाल सरकारको संलग्नता छ कि छैन ?

गर्नुपर्ने त नेपाल सरकारले नै हो नि । तर, केही पनि सहयोग गरेन । म नेपाल आउन पनि सरकारले ब्यक्तिगत बिदा लिन लगायो । यो सवै मेरो ब्यक्तिगतरुपमा र कोरियामा रहेका नेपाली जनताहरुको संलग्नतामा भइरहेको छ । त्यहाँ नागरिक समाज बनाएर पैसा संकलन गर्नुभएको छ, राजदूत अगाडि जाउ, हामी सहयोग गर्छौं भनेर भनेका छन् ।

जनताको सहभागिता भएका कारण नेपाल सरकारलाई पनि दबाब भयो, राष्ट्रपति कार्यालयमा कार्यक्रम गर्‍यौं, मन्त्रीहरु आएर शुभकामना दिनुभयो ।

कति पैसा खर्च भयो ?

कति पैसा लाग्यो ठ्याक्कै त भन्न सकिन्न । किनभने नागरिकस्तरबाट आ-आफै खर्च भएको छ । सरकारले बजेट छुट्टाएको भए त ४-५ करोड रुपैयाँभन्दा कमीले हुने थिएन ।

कोरियामा तपाईं राजदूत भएर गएको पनि एक बर्ष बढि भयो । नेपाली श्रमिकको संख्या बढेसँगै त्यहाँ बिभिन्न खालेको समस्या पनि बढेको भनिन्न । तपाईंले देखेका मुख्य समस्या केके छन् ?

समस्या नभएको ठाउँ कहाँ छ र ? यहीँ पनि समस्या छन नि । मान्छे जहाँ गयो, त्यहाँ त्यहाँ समस्याले पछ्याउँछ । अहिले कोरियामा जो मजदुर बनेर गएका छन्, ती यहाँका असली मजदुर हैनन् । मुख्य समस्या त्यही हो । असली मजदुर गएको भए त त्यहाँ समस्या कम पर्दथ्यो ।

त्यसो भए भाषा परीक्षा पास गरेर इपीएस प्रणालीमार्फत् कोरिया गएका नेपालीहरु असली मजदुर हैनन् ?

यहाँ बीए, एमए पास गरेका मान्छेहरु त्यहाँ श्रमिक बनेर गएका छन् । ती नेपालका असली मजदुर हुन् कि हैनन तपाई आफै भन्नुस् । मालिकले जति बढी दलायो त्यति बढी नाफा हुन्छ । तर, बानी नभएका श्रमिकहरुले कसरी खटेर काम गर्न सक्छन् ? यहीँ नै मजदुरी गरेर बानी परेको भए त उसलाई त्यस्ता काम गाह्रो लाग्दैन । बहर गोरु दाउँदाखेरि सियोमा हिड्दैन नि । त्यस्तै भएको छ, कोरियामा गएका नेपालीहरुलाई । कोही ६० बर्षको बुढोसँग २० बर्षको तरुनी केटी बिहे गरेर गएका छन् । त्यो यहीँकै समस्या हो, यहीँबाट समस्या बोकेर गएका छन् ।

कोरियाले नै भाषा परीक्षामा सयमा सय नम्बर ल्याउनेहरु, अब्बललाई छानेर लैजाने नीति बनाएको छ । त्यस्तोमा नपढेका र तपाईले भनेजस्तै साँच्चैका मजदुरहरु कसरी कोरिया जान सक्छन ?

तपाईले औंल्याएको कुरा पनि सही हो । त्यहाँ नेपाली जाने भनेको थ्रीडी-डीफिकल्ट, डर्टी, डेन्जर) काम गर्न हो । कोरियनले गर्न नसकेको काम नेपालीलाई गराउने हो । यहाँबाट जानेले टवलवर्क जस्तो सजिलो ठान्छन् । त्यसो नभएपछि अर्कोमा सजिलो पाइन्छ कि भनेर कम्पनी फेर्दै चाहार्न थाल्छन् । जसले लगेको उसले कम्पनी फेर्न अनुमति नदिएपछि उ अबैधानिक भइहाल्छ । अबैधानिक भएपछि समस्यै समस्या ।

त्यही कारण पछिल्लो समयमा इपीएसबाट गएकाहरु पनि अबैधानिक बनिरहेको भन्ने सुनिन्छ । तपाईलाई नेपालीहरु ऋवैधानिक भए भनेर कोरियनले गुनासो गरेका छैनन ?

मलाई कोरियन मन्त्रीले भन्छन्- तिम्रो मुलुकबाट बढी इल्लिगल कामदार आए । मैले मजाले जवाफ दिन्छु- ‘तिम्रो देशका कम्पनी सञ्चालकहरुले इल्लिगललाई काम दिने, उनीहरुले काम नदिए कसरी आउँछन् नेपाली ? आउँदा लिगल नै आउँछन्, नआउ भन्न भएन, तपाईहरु इलिगललाई काम दिनुहुन्छ, अनि इलिगल बढ्छन् । हामी कहाँ खोज्न जाने ?’

इलिगल हुनु चाहना हैन, बाध्यता हो । कुन दरमा बढिरहेको छ भनेर त ठ्याक्कै भन्न सकिन्न । यति हो- इपीएसमा गएका सबै लिगल चाहिं छैनन् । जुन कम्पनीले नेपालबाट लगेको उसको अनुमतिमा तीनपटकसम्म कम्पनी फेर्न सकिन्छ, त्योभन्दा बढी कम्पनी फेरे इलिगल भइहालिन्छ । सुरुमा लाने कम्पनीले अनुमति नदिए त एकपटक फेरे पनि इलिगल । राम्रो काम गर्ने मान्छेलाई साहुले जानै दिन्न, काम नलाग्नेलाई खुरुक्क जान दिन्छ । त्यसैले इलिगल हुने क्रम बढेको होला ।

त्यहीं नै नेपालीहरुले इलिगल बनाइदिने ब्यापार पनि गरिरहेका छन । एउटा कामदारलाई गएर भड्कायो, अर्को ठाउँमा यति तलव पाउने काम मिलाइदिन्छु भन्यो । महिनामै ५ लाख वन बढि तलव पाइने भएपछि को जाँदैन ? त्यसरी काम लगाइदिएवापत यसले दुई तीनलाख रुपैयाँ हजम गरिदिन्छ । त्यहाँ बस्ने पुराना नेपालीहरुले नै इलिगल बनाउने धन्दा चलाइरहेको छन् ।

पछिल्लो दिनमा कोरियामा नेपालीहरुको मृत्यु हुने क्रम पनि बढिरहेको देखिन्छ । कतिपय दुर्घटनामा त कतिपयले आत्महत्या गरेको पाइन्छ । यसको कारण खोतल्नुभएको छ ?

मर्न त मान्छे यहाँ पनि मर्छन नि । त्यहाँ मरेको समाचार बन्छ, यहाँ मरेको समाचार बन्दैन । अर्को कुरा, अहिलेका नयाँ पुस्ताका केटाकेटीहरु कसैको लभ हुन्छ कसैको के हुन्छ , त्यो कारणले पनि आत्महत्या गरिरहेका छन् । कतिपय यहाँ कामै नगरेका, थालमै भात पाकेका मान्छे त्यहाँ गएर काममा बेस्कन दलिनुपर्छ । यताबाट परिवार पेल्छ- जसरी पनि त्यहीँ बसेर कमाउनु भनेर । उता साहुले पेल्छ दलिएर काम गर भनेर । यस्तो दोहोरो प्रेसरका कारण पनि मानिसहरुले आत्महत्या गरिरहेका छन् । जहान छोराछोरी नेपालमा छाडेर गएर त्यहाँ गएर गलत काम गर्नेहरु पनि छन । हुनसक्छ उनीहरुलाई कुनै दीर्घरोग लागेको हुनसक्छ । यो चाहिं मेरो मोटामोटी अनुमान हो । मैले के कारण हो भनेर अनुसन्धान गर्न एउटा समिति बनाएको छु, त्यसले रिपोर्ट दिइसकेको छैन ।

तीन महिनाको समय दिएर गठन गरिएको समितिले रिपोर्ट नै नबुझाएको हो कि तपाइहरुले सार्वजनिक गर्न नखोजेको हो ?

रिपोर्ट नै बुझाएको छैन । कोरिया ठूलो मुलुक छ । फिल्डमा पुगेर अनुसन्धान गर्न साधन स्रोत धेरै चाहिन्छ । साधन स्रोतका अभावले पनि ढिलाइ भइरहेको होला । अक्सर राजनीतिक नियुक्तिबाट गएको नेपाली राजदूत भएका ठाउँमा नेपाली समुदाय र दूतावासको सम्बन्ध अलिक सुमधुर र करियर डिप्लोम्याट राजदूत भएका मुलुकमा अलिक तितो सम्बन्ध जस्तो देखिन्छ । 

तपाई राजनीतिक पृष्ठभूमिको मान्छे भएर पनि दूतावास र नेपाली समुदायसँगको सम्बन्ध किन राम्रो हुन नसकोको हो ? दूतावासप्रति किन यति धेरै गुनासो छ र दूरी छ कोरियामा रहेका नेपालीहरुको ?

कसैका लागि कोही पनि सय प्रतिशत राम्रो बन्न सक्दैन । यदि कोरियामा रहेका नेपालीहरु मदेखि असन्तुष्ट भए यत्रो ठूलो खर्चको शान्तिदीप सम्बन्धी कार्यक्रममा त्यहाँ रहेका नेपालीहरु कसरी सहभागी भए त ? इम्पावरिङ नेपाल २०१२ र शान्तिदीप गरी दुईवटा ठूला कार्यक्रम मैले त्यहीँका नेपालीको साथ लिएर गरेको छु । यस्तो कार्यक्रम अरु कुनचाहिं डिप्लोम्याटले गरेको छ ? इम्पावरिङ नेपाल २०१२ मा त यहाँबाट ५६ जना ब्यापारीहरु गएका थिए । नेपाल उद्योग बाणिज्य महासंघकै अध्यक्षको नेतृत्वमा ब्यापारीहरु गए, त्यहाँका ब्यापारीसँग लगानीका बिषयमा कुरा गरे । तर, नेपाल सरकारले एक रुपैयाँ पनि दिएन, त्यो सवै कोरियामा रहेको नेपाली नागरिक समाजले गरेको हो । त्यो सवै नेपाली मजदुरहरुकै सहयोग गरेको हो । मैले कसको के स्वार्थ पूरा गर्न सकिँन, त्यसका आधारमा कसैले मलाई के आरोप लगाउँदै हिँड्छ भने कमानसिंह लामा उनीहरुसँग जुधेर, बाझेर हिड्ने मान्छे हैन । सही कुरा जे हो त्यसैको पछि लाग्छ, को ठूलो, को सानो भनेर ख्याल गर्दैन ।

म राजनीतिक नियुक्तिमा गएको भएपनि म त्यहाँ पोलटिक्स गर्दिन । एमाओवादीको केद्रीय सदस्य थिएँ, अहिले छैन । मैले छाडेकै हुँ । जुत्ता बाहिर, मान्छे भित्र भन्या झैं मेरो पोलटिक्स गर्ने जुत्ता बाहिर छ, म कुटनीतिज्ञको भूमिकामा त्यहाँ छु । कसैले मलाई तँ राजनीतिक नियुक्तिमा आएको होस्, हाम्रो होस, राजनीति गर, भन्छन् तर त्यो म गर्दिन । म तामाङको प्रतिनिधि पनि हैन, म माओवादीको पनि हैन, म काभ्रेली पनि हैन, म नेपाल र नेपालीको प्रतिनिधि हुँ । कसैले गलत गर्छ भने छाडिन्न, कसैले लोभ लालच देखाए पनि लागिन्न त्यसको पछि । आरोप लगाउन सकिन्छ, मैले उहाँहरुको चाहना पूरा नगरेको पनि हुँला । तर, म ठीक लागेको मात्र गर्छु, बेठिक लाग्यो भने गर्दिन ।

तपाईं राजदूत भएर जानुअघि पनि तपाईले कोरियामा नेपालीलाई पठाएर अबैधानिक बनाउनुभयो, मानव बेचबिखनको धन्दा चलाउनुभयो भन्ने कुरा आएको थियो । तपाई राजदूत भएर गएपछि इम्पावरिङ नेपालका नाममा गरिएको कार्यक्रममा पनि केही मान्छेहरु लुकेर बसे । राजदूत आफैं मानव बेचबिखनमा र अबैधानिक धन्दाका संरक्षक हुन भन्ने आरोप यसबाट सत्य देखिन्न र ?

हो, ब्यापारीको टोलीमा गएका तीन जना मान्छे लुकेछन् । उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यजीले सिफारिस गरेको मान्छेलाई मैले सिफारिस गरिदिएँ । मैले उनीहरुले पठाएको मान्छेलाई विश्वास गर्नुपर्‍यो । त्यसमध्ये दुईजना छुट्टै गएछन, कार्यक्रममै गएनछन, लुकेछन् । मैले त्यतिखेर थाहा पाइँन, ख्याल पनि गरिँन । भन्नेले भने- राजदूतले मान्छे लुकायो भनेर । उहाँहरुलाई त्यही लाग्यो भन्नुभयो, ठिकै छ ।

तपाईं त त्यहाँको हेड अफ दि मिसन हो । तपाईले निम्ता गरेका दुई जना टोलीमै नहुँदा जानकारी नहुने भन्ने त पत्याउन सकिन्न । अर्कोकुरा तपाईले ढिलै थाहा पाउनुभयो रे, त्यसपछि उनीहरुलाई फर्काउन, त्यसमा संलग्न हुनेलाई कारवाही गर्न किन खोज्नुभएन । यसले तपाईकै संलग्नताको आरोपलाई बलियो बनाउँदैन र ?

औंला ठड्याउनु स्वभाविक हो । मैले फूलको माला पनि लगाएको छु, जुत्ताको माला पनि लगाएको छु । त्यही पुलिसले मलाई लात्तले पनि हानेको छ, त्यसैको स्यालुट पनि खाएको छु । मैले धेरै अनुभव हाँसिल गरेको छु । यी सबै सहन म तयार छु, त्यसले मलाई केही गर्दैन । अहिलेको कार्यक्रममा पनि कमानसिंहले मान्छे लानलाई गरेको हो भन्छन् । मान्छे त जान्छन्, तर फर्केर पनि आउँछन् । अस्तिमात्र एकनाथ ढकाल(पूर्वमन्त्री एवं परिवार दलका अध्यक्ष) जीले ३५ जना मान्छे लगेर जानुभयो, उनीहरुले त्यहाँको सडकमा बसेर माग्दैथिए, उनीहरुलाई पक्रेर पठाइदिएँ । त्यसको हल्ला गर्दैनन, कमानसिंह लामाले देशका लागि काम गर्दा त्यसो भयो त के बिगि्रयो ?

ती लुकेका तीन जनामध्ये दुईजना एफएनसीसीआईको सिफारिसमा र एकजना ट्रेकिङ एजेन्ट्स एसोसिएसनको सिफारिसमा गएको मान्छे लुकेछ । अब मैले उनीहरुबाट पैसा खाएकै हो भने उनीहरुलाई सोध्नुस् । उनीहरुको सबै बिबरण लिएर मैले कोरिया सरकारलाई पक्रनका लागि जानकारी गराइसकेको छु । नेपाली समाज जो हल्ला गर्छन, मैले उनीहरुलाई भनेको छु- तपाईहरु देखाइदिनुस् ती मान्छे म पक्रेर नेपाल फर्कादिन्छु भनेको छु । लुक्यो त तीन जना मान्छे लुकेर के कोरियामा ती तीनजना मात्र इलिगल छन् ? राजदूतावासमा आउने इलिगल सबैलाई पक्रेर मैले पठाइदिउँ ? जति पनि कोरियामा समस्या आएका छन्, ती सबै इलिगलसँग सम्बन्धित छन् । ती समस्या परेर आउनेलाई घोक्राएर पठाइदिउँ त ? त्यो काम त मेरो हैन । ल, दुई तीनजना नेपालीका छोराले बसेर कमाएर खाए त के बिगि्रयो ? यसो भन्दा कसैले मलाई इलिगललाई संरक्षण गर्‍यो भन्छन् भने मलाई टाउको दुखाई छैन ।

एकनाथ ढकालले मन्त्री हुँदा त्यस्तो काम गर्नुभएको हो कि पद छाडेपछि ?

मन्त्री हुँदै नै हो । एकनाथ त एउटा उदाहरणमात्र हो, त्यस्ता गिरोह नेपालमा छन् । उनीहरुले भिसा पनि सजिलै पाउँदा रहेछन् । पहिलोपटक ६ जनालाई पक्रेर माफी मगाएर पठाएको हो । फेरि पनि नेपालीहरुले समातेर राखेका रहेछन्, पछि उम्किएछन् ।

कोरियामा काम गर्ने श्रमिकहरुको बिदा आइतबार हुने हो । तर, त्यही दिन दूतावास बन्द हुँदा नेपाली श्रमिकले सेवा पाउन नसकेको भन्ने गुनासो छ । आइतवार दूतावास खोल्न केले समस्या भयो ?

यो कुरा पनि मेरो बिरुद्ध खुब चर्काइएको छ । त्यो मैले चाहेर मात्र खुल्ने हैन । थप बजेट दिनुपर्‍यो नि सरकारले । सित्तैमा त कसले काम गर्छ र ? दूतावास आइतवार खोल्नुपर्‍यो भनेर मैले प्रस्ताव पठाएको छु, तर त्यसको बजेट स्वीकृत भएकै छैन । स्वीकृत भएको बजेट पाउनै कति समय लाग्छ । उहाँहरुले भन्नासाथ त्यो हुँदैन । नेपाल सरकारका कर्मचारी कानुनले तोकेको कुरा गर्न बाध्य हुन्छन्, मैले चाहेर मात्र खुसुक्क आइतवार पनि काम गर भनेर हुन्छ र ? आइतवार दूतावास खोल्दैमा समस्या समस्या समाधान हुने पनि हैन, तर नहुनुभन्दा कानै भए पनि बेस भनेर मैले पहल गरिरहेको छु । एउटा कारिन्दामात्र बसेर दूतावास खोलेर हुँदैन, सिंगो राजदूतावास खोल्नपुर्‍यो त्यसका लागि बजेट चाहिन्छ ।

नेपाली दूतावासमा रहेको दोषाभे पनि दूतावासले हटायो रे । जरुरी नदेखेर हो ?

बिश्वको कुनै पनि नेपाली राजदूतवासमा दोभाषे हुने ब्यबस्था नै छैन । दोभाषे भएर हटाएको हैन, म गएपछि त्यो पद सिर्जना गर्न चाहिं खोजेको हुँ । दूतावासलाई दोभाषे चाहिन्छ त्यसैले त मैले दोभाषे राख्नलाई बजेट देउ भनेर काठमाण्डौ लेखिपठाएको छु । श्रम मन्त्रालय अन्र्तगतको कल्याणकोषको ४-५ हजार डलर दिनुपर्‍यो त्यो पैसाले हामी दोभाषे राख्छौं भनेको छु । मैले काम गरिरहेको छु, कसले के भन्यो भन्नेसँग आत्तिन्न ।

तपाईले आइतवार दूतावास खोल्न र दोभाषे राख्न पैसाको अभाव भन्नुभयो । तर हालै तपाईहरु मासिक लाखौं रुपैयाँ बढी भाडा पर्ने स्थानमा सर्नुभएको छ रे ? त्यसका लागि रकम हुने, दोषाभेलाई रकम चाहिँ नहुने ?

अब दूतावासै नराख्ने भन्यो भने मात्र खर्च नबढ्ने हो, नत्र त बढिहाल्छ । नराख्ने भने नराख्ने, म फर्किएर आउँला । नेपालमा चुनावको माहौल बनिरहेको छ, चुनावमा उठौं, उठौं लाग्या छ । मलाई राजदूत भएर बसिरहनु जरुरी छैन ।

दूतावास सानो भएर हामी सर्नुपरेको हो । पहिले तीनजनाले काम गर्थे, अहिले ९ जनाले काम गर्छन् । पार्किङ पनि थिएन, दूतावासकै मोटर सडकमा राख्नुपर्ने थियो । दूतावासमा हिटिङ सिस्टम नभएकाले पाइप फुटेर दूतावासका महत्वपूर्ण दस्तावेज भिजे । त्यसै कारण परराष्ट्रले तुरुन्त सर्नु भनेको थियो । बच्चा सानो हुँदा सानो अण्डरवेयर, ठूलो भएपछि अण्डरवेयर राम्रो भएपनि ठूलो नै किन्नुपर्छ । नयाँ ठाउँ बल्ल राजदूतावासजस्तो भयो भनिरहेका छन् नेपालीहरुले । पुरानै ठाउँमा बस्दा पनि भाडा त बढिहाल्थ्यो । घोटला भयो भन्ने लाग्छ भने छानविन गरे हुन्छ ।

इलिगल नेपालीहरुको पासपोर्ट रिन्यु गर्न पनि मिल्दैन भन्ने गुनासो आएको छ । के समस्या हो ?

इलिगलको रिन्यु भइरहेको छ त । इलिगलको अर्को नामै समस्या हो, उहाँहरु इलिगल हुनुहुन्छ त समस्या भइहाल्छ नि । आफु इलिगल हुँदाहुँदै नक्कली भिसा हानेर बस्ने अनि त्यस्तोलाई कसरी पासपोर्ट रिन्यु गर्न सकिन्छ ? इलिगल नेपाली दूतावासमा आएपछि उसलाई त समातेर नेपाल पठाउने हो । त्यसैले एकदमै आवश्यक पर्दा मात्र तपाईहरु दूतावासमा आउनुस भनेको हुँ । इलिगल छौं भने मकहाँ देखिन नआउ, मलाई जानकारी पनि नदेऊ, मलाई मतलव छैन । अब दूतावास आउनुहुन्छ भने मेरो नेपालीलाई ट्राभल डकुमेन्ट दिएर नेपाल पठाउने काम हो । म त्यही गर्छु ।

कोरिया जान इपीएसको वेटिङ लिष्टमा रहनुभएका र भाषा परीक्षा दिने सोचमा रहेकालाई तपाईको सुझाव के छ ?
मुख्य कुरा त्यहाँ गएर थ्रीडी काम गर्ने हो, काम गर्न सक्छु, भिड्छु भन्ने मानसिकता बनाउनुपर्यो । उहाँबाट अदक्ष कामदार जान्छन त्यहाँ जरुरी छ दक्ष कामदारको । यदि तपाई बिहे गर्नुहुन्छ, असली बिहे गर्नुस, नक्कली बिहे नर्गुनस् । २० बर्षको तरुनी केटी ६० बर्षको बुढासँग बिहे गरेर जाने अनि एयरपोर्टबाटै भाग्न खोज्ने । उसले बल्ल तरुनी केटी पाएँ भनेर दंग पर्छ । अनि झगडा भइहाल्छ ।

मेरो प्रस्तावचाहिं के छ भने- इपीएस परीक्षामा भाषामा राम्रो नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस, उठाउन सक्छ जावोस, सक्दैन नजावोस् । चाहे एमए गरोस् वा पीएचडी नेपालीले गर्ने काम नै बोक्ने उचाल्ने र दुःखको हो । त्यहाँ मालिक र कामदारको रिलेसन हुन्छ, तपाईले मरेर काम नगरी सुख छैन । त्यो बुझेर कोरिया जानुस् ।
(साभार  अनलाईन खबर)

No comments:

Post a Comment