Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 5, 2012

इपिएस पास गर्दैमा कोरिया जान पाइन्न l

सुरेन्द्र पौडेल,
काठमाडौं,- 
 
'इपिएस (रोजगार अनुमति प्रणाली) भाषा परीक्षा पास गरेको दुई बर्षभित्र दक्षिण कोरिया जान पाइन्छ', धेरैको बुझाई छ। तपाई पनि इपिएस भाषा परीक्षा पास गरी ढुक्क भएर बस्नुभएको छ भने कोरिया जाने सपना पुरा नहुन सक्छ। भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन। तपाइँ कोरिया जान योग्य भने हुनुहुन्छ। योग्य सबैलाई कोरियाले रोजगारी दिंदैन। 

'इपिएस भाषा परीक्षा पास गरेपछि जसरी पनि कोरिया गई काम गर्न पाइन्छ भन्ने धेरैलाई भ्रम छ,' इपिएस नेपालका प्रमुख ज्ञाननाथ ढकालले भने, 'भाषा परीक्षा पास गर्दैमा कोरिया जाने सुनिश्चत हुँदैन। भाषा परीक्षा पास गर्नु भनेको कोरिया काम गर्न जान योग्य हुनु मात्र हो, अनिवार्य जान पाउने भन्ने होइन।'
भाषा परीक्षा पास गर्नेहरु ढिलोचाँडो अनिवार्य कोरिया जान पाइन्छ भनि ढुक्क छन्। कोरियाका निजी कम्पनीले नेपाली कामदार मागे भने मात्र भाषा परीक्षा पास गरेका जान पाउँछन्, अन्यथा पाउँदैनन्।
एक पटक भाषा परीक्षा पास गरेपछि त्यसले दुई बर्ष मान्यता पाउँछ। दुई बर्ष भित्र कामदार कोरियाका कम्पनीले नमागे जान नपाएकाले पुनः भाषा परीक्षा दिनुपर्छ। भाषा परीक्षा पास गर्ने जति सबैलाई कम्पनीहरुले रोजगार दिनैपर्छ भन्ने छैन। उनीहरुले नेपाली कामदार आवश्यक ठाने परीक्षा पास गरी बसेकाले स्थान पाउँछन्। नेपाली वा अन्य देशका कामदार रोज्ने अधिकार कम्पनीमै नीहित हुन्छ।
'इपिएस प्रणाली मार्फत गइसकेका नेपाली कामदारले त्यहाँ राम्रो काम गरे कोरियन कम्पनीले थप नेपाली मगाउने हो,' ढकाल भन्छन्, 'अहिले मिश्रित प्रतिक्रिया आएको छ। केही कम्पनीले नेपाली कामदार माग्दै छन् त केही भाग्दै छन्।'
केही कामदारले काम सुरु गरे लगत्तै बिभिन्न माग राखी विरोधका कार्यक्रम थालेपछि रोजगारदाता केही कम्पनी नेपालीदेखि तर्सिएका छन्। यस्ता कम्पनी नेपाली कामदारबाट अन्यत्र मोडिएका छन्। केही कम्पनीमा भने नेपालीको उत्कृष्ट प्रदर्शन छ। त्यस्ता कम्पनीले अन्य देशका कामदार कटौती गरी नेपालीनै मगाउने गरेको ढकालले बताए।
'कति कोरियन कम्पनीलाई नेपालबाट कामदार आउँछन् भन्ने पनि थाहा छैन,' ढकाल भन्छन्, 'प्रचार पुगेको छैन। दुई देशबीच उच्चस्तरीय भ्रमण हुन नसक्दा प्रचारमा सुस्तता आएको हो।'
सन् २००८ मा नेपाल र कोरियाबीच एमओयुमा हस्ताक्षर भएपछि इपिएस प्रणाली मार्फत कोरियन निजी कम्पनीले नेपाली लैजान थालेका हुन्। नेपाली चाहने कोरियन कम्पनीले सुरुमा त्यहाँको 'जव सेन्टर' (श्रम सूचना केन्द्र) मा सम्पर्क गर्छन्। जव सेन्टरले त्यहाँको सरकारी ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस (एच्आरडी)लाई कम्पनीको माग बुझाउँछ। एचआरडीले इपिएस नेपाललाई श्रम सहमति पत्र पठाउँछ र भाषा परीक्षा पास गरेका कोरिया जाने गर्छन्।
कोरियन जब सेन्टरले भाषा परीक्षा पास गरेका नेपालीको रोस्टर बनाएर राखेको हुन्छ। रोस्टरमा भाषा परीक्षा पास गर्ने व्यत्तिको आवेदन, इपिएस आइडी तथा नम्बर, मेडिकल रिपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारी अनुमतिपत्र लगायत सबै कागजात फाइल गरी कम्प्युटरमा राखेको हुन्छ। निजी कम्पनीले कामदार माग गर्ने वित्तिकै रोस्टरबाट जव सेन्टरले कामदारको सम्पूर्ण विवरण कम्पनीलाई दिन्छ।
रोस्टरबाट कामदार छान्ने काम कम्प्युटरले गर्छ। कम्पनीले ३ जना कामदार मागे जव सेन्टरले ६ जनाको सूचि पठाउँछ। कम्पनीले ६ जनाबाट तीन जना रोज्छ र बाँकीलाई पुनः रोस्टर प्रणालीमा राख्छ। यसरी कम्पनीले रोजेको कामदारको नाममा श्रम सम्झौता पत्र एचआरडी हुँदै इपिएस नेपाल आउँछ। इपिएस नेपालले सम्बन्धीत व्यत्तिलाई सम्पर्क गरी कम्पनीले पेश गरेको सेवा,सुविधाबारे जानकारी दिन्छ। सेवासुविधा चित्त बुझे इपिएस भाषा पास गरेको व्यक्तिको भिसा प्रक्रिया अघि बढ्छ र कोरिया पुग्ने गर्छ।
'इपिएस भाषा परीक्षा पास गरेपछि त्यसले दुई बर्ष मान्यता पाउने भए पनि मेडिकल रिपोर्टले भने एक वर्ष मात्र मान्यता पाउने सहमति नेपाल-कोरिया बीच छ,' ढकालले स्पष्ट पारे, 'त्यसैले सन् २०११ मा भाषा परीक्षा पास गरेर पनि कोरिया गइ नसकेकाको पुनः मेडिकल रिपोर्ट बनाई 'रि-रजिस्ट्रेसन्' प्रक्रिया सुरु गरेका छौं।'
५८ सयको पुनः दर्ता
कोरिया जान सन् २०११ मा इपिएस भाषा परीक्षा पास गरेका मध्ये ५ हजार ८ सयको पुनः दर्ता सकिएको छ। भाषा परीक्षा पास भएपछि त्यसले दुई बर्ष मान्यता पाउने भएपनि मेडिकल रिपोर्ट प्रत्येक बर्ष नविकरण गर्नु पर्ने प्रावधान छ। एक बर्ष अघिको मेडिकल रिपोर्टको मिति सकिएपछि अटोमेटिक रुपमा कम्प्युटरले रोस्टरमा दर्ता भएको उनीहरुको नाम हटाएको थियो।

रोस्टरबाट नाम हटेपछि केही दिन अघि कोरियाले सन् २०११ मा भाषा परीक्षा पास गरेका तर कोरिया गइनसकेकाको नयाँ रिपोर्ट बनाई पुनः दर्ता गर्न आग्रह गरेको थियो। सोहीअनुसार इपिएस नेपालले मंसिर १० गतेबाट पुनः दर्ता प्रक्रिया सुरु गरेको हो। पुनः दर्ता कार्यक्रम बुधबार सकिंदै छ। पुनः दर्ता गर्नु पर्ने ९ हजार ३ सय ७८ जना मध्ये मंगलबारसम्म ५ हजार ८ सय जनाको सकिएको इपिएस नेपाल प्रमुख ज्ञाननाथ ढकाले जानकारी दिए।
'बुधबारसम्म ५८ सयको पुनः दर्ता गरिसकिएको छ,' ढकालले भने, 'बुधबार अन्तिम दिन हो। तर, छुटेकाहरु आए पछि पनि पुनः दर्ता गरिन्छ।'
सन् २०१२-२०१३ को लागि २०११ मा लिइएको भाषा परीक्षामा ६५ हजारभन्दा बढिले फाराम बुझाए पनि परीक्षामा ५२ हजार हाराहारीमा उपस्थित थिए। यि मध्ये १५ हजार ६ सय ७८ जनाले परीक्षा पास गरेका थिए र उनीहरुको रोस्टर बनाई राखिएको थियो।
ढकालका अनुसार भाषा परीक्षा पास गर्नेमध्ये ६ हजार ३ सयभन्दा बढिको श्रम सम्झौता पत्र आइसकेको छ। सम्झौता पत्र आइसकेका मध्ये ५ हजार ६ सय कोरिया गइसकेका छन्। सम्झौता पत्र नआइसकेकाहरुको नाम मेडिकल रिपोर्टको म्याद सकिंदा रोस्टरबाट हटेपछि पुनः दर्ता प्रक्रिया थालिएको हो।
सन् २००८ बाट इपिएस प्रणाली लागू भएयता हालसम्म १५ हजारभन्दा बढि नेपाली बिभिन्न कम्पनीमा काम गर्न कोरिया गइसकेका छन्। सामान्यतय कोरिया जानेको करार अवधि तीन वा ४ बर्ष १० महिनाको हुन्छ।

No comments:

Post a Comment